भालुबाङ १८ मंसिर । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकले आफ्नै जिम्मेवारीतर्फ कदम अघि बढाउँदा मात्र समाज र देशको विकास सम्भव हुने बताउनु भएको छ ।
मंगलबार भालुबाङमा सुरु भएको ‘आधारभूत सिकाइका लागि ठूली दिदी (बिग सिस्टर) मोडेल–परिस्कृत र विस्तार परियोजना : सिकाइ–दुई’ अन्तर्गत तीन दिने क्षमता विकास कार्यशालामा अध्यक्ष विष्टले बालबालिकाको शिक्षा र सिकाइ सुधारमा ठूली दिदीहरूको भूमिकाको महत्त्वबारे बताउनुभयो । उहाँले शिक्षा केवल विद्यालयको दायरा मात्रै नभएर समुदायकै साझा जिम्मेवारी भएको धारणा राख्नुभयो। ठूली दिदी कार्यक्रमले कमजोर सिकाइ भएका बालबालिकालाई विद्यालयसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँकाे विश्वास छ ।
अध्यक्ष विष्टले ठूली दिदीहरूले आफ्ना टोल–समुदायमा गएर बालबालिकालाई मार्गदर्शन गर्नुपर्ने र शिक्षा मार्फत दीर्घकालीन परिवर्तन ल्याउन सकिने पनि बताउनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्र, वाणगंगा–४, कपिलवस्तुका अध्यक्ष त्रिलोचन घिमिरेले ठूली दिदी मोडेलले शिक्षामा जनजागरूकता फैलाउने, बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने र समुदायमा सकारात्मक प्रभाव पार्ने बताउनुभयाे ।
घिमिरेले यस परियोजना हेपेल फाउन्डेशन र भि.एस.ओ नेपालको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका चार जिल्ला कपिलवस्तु, दाङ, बाँके र बर्दियाका २० पालिकाका ६५ जना ठूली दिदी सहभागी रहेको समेत जानकारी दिनुभयो ।
तीन दिने कार्यशालामा सहभागी ठूली दिदीहरूले नेतृत्व क्षमता, आत्मविश्वास, आधारभूत सिकाइ, मार्गदर्शन सीप, समावेशी शिक्षा र अपाङ्गता–मैत्री वातावरण सम्बन्धी प्रशिक्षण प्राप्त गर्ने जनाइएको छ ।
तालिमपछि उनीहरूले तोकिएका सामुदायिक विद्यालय र बस्तीमा गई कमजोर विद्यार्थी तथा विद्यालय बाहिरका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने छन् ।
कार्यक्रममा राजपुर गाउँपालिका शिक्षा शाखाकी सहायक कामना चाैधरी, भि.एस.ओ नेपालका अधिकृत शिखा श्रेष्ठ ,फिराेज सिद्धिकी लगायतले ‘आधारभूत सिकाइका लागि ठूली दिदी (बिग सिस्टर) मोडेल–परिस्कृत र विस्तार परियोजना : सिकाइ–दुई’ काे बारेमा धारणा राख्नुभएको थियो ।
परियोजना संयोजक यादव भुसालकाे स्वागत मन्तव्य तथा परियोजनाबारे जानकारीबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण परियोजना अधिकृत सन्जु केसीले गर्नुभएको थियो ।











