भालुवाङ २२ मंसिर । दाङमा एक जना व्यवसायी तथा कलाकारले फेसबुकबाट आएको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी रामु सुनामले फेसबुकमा विभिन्न हास्य विधाका भिडियो पोष्ट गरेर कमाएको आम्दानीले विद्यार्थीहरूको हितमा खर्च गर्नु भएको हो ।
सुनामले आफ्नो ४० औं जन्म दिनको अवसर पारेर अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–७, लामाताल स्थित विष्णुपद चौपारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।
बुवा खड्क बहादुर परियार र स्व. आमा मनमाया परियारको जेठा सुपुत्रका रुपमा जन्मिनु भएका सुनामले भालुवाङ ग्रिनपार्क भित्र सुन्दर सटिङ सुटिङ टेलरिङ सेन्टर समेत सञ्चालन गर्दै आउनु भएको छ ।
फेसबुकमा विभिन्न हास्य विधाका भिडियो पोष्ट गरेर कमाएको आम्दानी विद्यार्थीहरूको हितमा खर्च गरेको सुनामको यो उदाहरणीय कदमले विद्यालय क्षेत्रमा खुसीयाली छाएको छ ।
कार्यक्रमका क्रममा उनले करिव ५० हजार मुल्य बराबरको ६ सय पिस कापी, पेन्सिल, कलम विद्यार्थीहरूलाई हस्तान्तरण गर्नुको साथै विद्यालयलाई कार्पेट समेत सहयोग गर्नु भएको छ । बाल्यकालमा सोही विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै उनले सामाजिक क्षेत्र र शिक्षामा सानै तर महत्वपूर्ण योगदान दिँदा ठूलो सन्तोष प्राप्त भएको बताउनु भयो । आफ्नो भिडियो मार्फत मन पराइदिने दर्शककै माया र सहयोगले यो काम सम्भव भएको उहाँले बताउनु भयो ।
सुरु सुरुमा साना साना भिडियोहरु मनोरञ्जनका लागि फेसबुक, युटुव र टिकटकमा हाल्दै गएको र पछि फेसबुक मोनिटाइज भएर मेटा कम्पनीले पैसा दिन थालेपछि फेसबुकबाट आएको पैसाले सामाजिक क्षेत्रमा केहि गरौ भन्ने सल्लाह भएर श्रीमान्को जन्म दिनको अवसर पारेर विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको सुनामकी जीवनसंगिनी सिमा सुनामले बताउनु भयो । आर्थिक अभावका कारण शैक्षिक सामग्री अभाव झेलिरहेका विद्यार्थीहरूलाई सुनामले गरेको सहयोगले पठन–पाठनमा धेरै प्रेरणा मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश थापा र प्रधानाध्यापक जनक केसीले बताउनु भयो ।
विद्यार्थीहरू पनि शैक्षिक सामग्री पाउँदा निकै उत्साहित बनेका छन् । स्थानीय अभिभावक र शिक्षकहरूले कलाकार सुनामको सामाजिक उत्तरदायित्वप्रति जोडिएको योगदानको प्रशंसा गर्दै यस्तो कार्यले समुदायमा सकारात्मक ऊर्जा फैलिने बताएका छन् । यसका साथै जन्मदिनलाई सार्थक बनाउँदै कलाकार रामु सुनामले देखाएको सामाजिक भावनाले स्थानीय समुदायमा राम्रो उदाहरण प्रस्तुत गरेको छ ।
सो अवसरमा सुनामका दिदीहरु शान्ता परियार, विष्णु परियार, सविता परियार, बहिनी सुमित्रा परियार, भाई दिपक सुनाम, आई.एस.एस.पि कम्प्युटर इन्सिच्युटका सञ्चालक बसन्त पुलामी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, नयाँ युगबोधका महेश रिजाल, देउखुरी टुडेका अध्यक्ष÷ प्रधान सम्पादक तथा हिमालय टेलिभिजनका संसदीय व्युरो सन्तोषकुमार गुप्ता लगायतको विशेष उपस्थिती रहेको थियो ।











