सोमवार, जेष्ठ ११, २०८३

कालिका सामुदायिक वन उपभोक्ता समुहको फेरि भेटौँला कार्यक्रम सम्पन्न

भालुवाङ ११ जेठ । लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका–२ लालमटिया स्थित कालिका सामुदायिक वन उपभोक्ता समुहद्वारा आयोजित “फेरी भेटौँला” कार्यक्रम आइतबार भव्य रूपमा आफ्नै सभाहल लालमटियामा सम्पन्न भएको हो ।

कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खुम बहादुर गुरुङ को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा निवर्तमान अध्यक्ष जोहर मान मियाँ को उपस्थिति रहेको थियो ।

कार्यक्रममा निवर्तमान उपाध्यक्ष भिमलाल न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्दै सामुदायिक वन संरक्षण, संस्थागत एकता तथा सामाजिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई टीका, माला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सम्मान कार्यक्रमले संस्थामा योगदान पुर्‍याउने व्यक्तिहरूप्रति कदर र सम्मानको भाव अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष गुरुङले सामुदायिक वनको संरक्षण, संस्थागत विकास तथा आगामी योजनाहरू सफल बनाउन सम्पूर्ण उपभोक्ता, स्थानीयवासी तथा सरोकारवालाको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय उपभोक्ता, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन समितिका सचिव कृष्णा पोख्रेलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation