काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखामा कार्यरत एक हाकिमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । पदको दुरुपयोग गरेर घुस माग्ने कार्यमा संलग्न व्यवस्थापन शाखा प्रमुख (प्रबन्धक) पूर्ण प्रसाद चुडाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
नवौं तहका कर्मचारी उनले एयरपोर्ट ( आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्नका लागि पास उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
त्यसका लागि उनले एकमुष्ट १ लाख ५० हजार रुपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोबारेको उजुरी अख्तियारसम्म पुगेपछि सोमबार अख्तियारको केन्द्रीय कार्यालयबाट टोली विमानस्थलमा पुगेको थियो ।
टोलीले सुरुमा उनलाई अख्तियारले कार्यकक्षबाट एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । त्यसपछि खानतलासी गर्दा कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट थप आठ लाख रुपैयाँ बरामद भएको उनको भनाइ छ । अख्तियारको टोलीसमक्ष चुडालले ८ लाखको स्रोत खुलाउन नसकेको बताइएको छ ।
यस्तै उनको साथबाट विभिन्न ब्रान्डका ९ बोतल मदिरा, ४ थान मोबाइल समेत बरामद भएको छ । अख्तियारका अनुसार उनले पास बनाउन सेवाग्राहीबाट १० हजारका दरले १५ महिना बराबरको रकम दिनुपर्ने भन्दै घुस माग गरेका थिए । पक्राउ पछि चुडालमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।











