बुधबार, असार २४, २०८३

उपचारभन्दा रोकथाममा जोड : स्वास्थ्य प्रवर्धनका लागि मिडिया पैरवी कार्यक्रम सम्पन्न

देउखुरी २४ असार । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य प्रवर्धनका लागि सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्वास्थ्य प्रवर्धनका लागि मिडिया पैरवी कार्यक्रम’ सम्पन्न भएको छ ।

मंगलबार राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षता रहेको थियो । कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अरियालले स्वास्थ्य प्रवर्धनसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत सन्देश पौडेलले गर्नुभएको थियो ।

प्रस्तुतीकरणका क्रममा स्वास्थ्य सेवाको परम्परागत अवधारणालाई परिवर्तन गर्दै उपचारभन्दा रोगको रोकथामलाई प्राथमिकता दिनुपर्ने, स्वास्थ्यमा आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षको प्रभाव, विद्यालय तथा क्यान्टिनमा स्वस्थ वातावरण निर्माण, मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवाको आवश्यकता, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका, तथा राजनीतिक गफभन्दा स्वास्थ्यसम्बन्धी बहस र संवादलाई प्राथमिकता दिनुपर्ने विषयमा विस्तृत रूपमा प्रकाश पारिएको थियो ।

कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाबीच स्वास्थ्य प्रवर्धनमा मिडियाले निर्वाह गर्न सक्ने भूमिकाबारे अन्तरक्रियासमेत भएको थियो ।

सहभागीहरूले तथ्यमा आधारित स्वास्थ्य सूचना प्रवाह, जनचेतनामूलक सामग्री उत्पादन तथा स्वस्थ समाज निर्माणमा सञ्चारमाध्यमको सक्रिय सहभागिताले सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरेका थिए ।

स्वास्थ्य प्रवर्धन र रोगको रोकथामलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन सञ्चारमाध्यमसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation