शनिबार, असार २७, २०८३

राप्ती प्रेस मञ्चको पहलमा विद्यार्थीलाई लागूऔषध, ट्राफिक र साइबर अपराधबारे प्रशिक्षण

देउखुरी २६ असार । राप्ती प्रेस मञ्चको आयोजना तथा राप्ती गाउँपालिका, राप्ती गाउँपालिका–४, इलाका प्रहरी कार्यालय भालुवाङ, अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङ, सरकारी वकिल कार्यालय घोराही र जीवनदृष्टि पुनर्स्थापना केन्द्र सिसहनियाँको समन्वयमा मावि मौरिघाटमा विद्यालयस्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा कक्षा १०, ११ र १२ मा अध्ययनरत १४८ जना विद्यार्थीलाई लागूऔषध दुर्व्यसन, ट्राफिक सुरक्षा, साइबर अपराध, कानुनी साक्षरता तथा बालविवाहका विषयमा प्रशिक्षण दिइएको थियो ।

लागूऔषध दुर्व्यसन र साइबर अपराधसम्बन्धी प्रशिक्षण इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले दिएका थिए । ट्राफिक सचेतनाबारे अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका वरिष्ठ प्रहरी नायब निरीक्षक प्रेमप्रसाद पोख्रेलले जानकारी गराएका थिए भने कानुनी साक्षरता तथा बालविवाहसम्बन्धी प्रशिक्षण सरकारी वकिल कार्यालय घोराहीका सरकारी वकिल तेजप्रसाद पाण्डेले दिएका थिए ।

त्यस्तै, जीवनदृष्टि पुनर्स्थापना केन्द्र सिसहनियाँका सञ्चालक भूमिस्वर नेपालले लागूऔषध दुर्व्यसनबाट बच्ने उपाय र पुनर्स्थापनाको महत्वबारे जानकारी गराएका थिए ।

राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का अध्यक्ष वीरबहादुर चौधरी, मावि मौरिघाटका प्रधानाध्यापक गणेश शर्मा, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, सरोकारवाला तथा राप्ती प्रेस मञ्चका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले पछिल्लो समय बढ्दो लागूऔषध दुर्व्यसन, साइबर अपराध, ट्राफिक दुर्घटना तथा बालविवाहजस्ता सामाजिक समस्याबाट युवापुस्तालाई जोगाउन विद्यालय तहबाटै निरन्तर सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा कानुनी ज्ञान, सामाजिक उत्तरदायित्व र सकारात्मक व्यवहार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation