आइतवार, असार २८, २०८३

सुरक्षित विद्यालय यातायातका लागि चालकलाई ४० किमि प्रतिघण्टाभन्दा बढी गति नचलाउन आग्रह, प्रशिक्षणपछि प्रमाणपत्र वितरण

देउखुरी असार २७ ।
लालमटिया दाङ शनिबार :संस्थागत विद्यालय समन्वय समितिको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङ र इलाका प्रहरी कार्यालय भालुवाङको सहकार्यमा विद्यालयका चालक तथा सहचालकलाई लक्षित ट्राफिक सचेतना, सवारीसाधनको प्राविधिक परीक्षण तथा चेकजाँच कार्यक्रम शनिबार आदर्श नमुना माध्यमिक विद्यालय, लालमटियामा सम्पन्न भएको छ ।
कार्यक्रम संस्थागत विद्यालय समन्वय समितिका अध्यक्ष चम्पकराज कार्कीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थागत तथा सामुदायिक विद्यालयका प्रिन्सिपल, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपाने, अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रमुख प्रेमप्रसाद पोख्रेल, राप्ती प्रेसमञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, पत्रकार तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
प्रशिक्षणका क्रममा इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गोपाल न्यौपाने र अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रमुख प्रेमप्रसाद पोख्रेलले विद्यालय सञ्चालन हुने समयमा सवारी दुर्घटनाको जोखिम बढी रहने भएकाले चालक तथा सहचालकले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए। उनीहरूले ट्राफिक नियम, कानुन, सुरक्षित सवारी सञ्चालनका मापदण्ड तथा विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर विद्यालय बस सञ्चालन गर्न आग्रह गर्दै विद्यालयका सवारीसाधन ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा नचलाउन सुझाव दिएका थिए ।
कार्यक्रमअन्तर्गत राप्ती गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ४२ वटा बसको प्राविधिक परीक्षण तथा चेकजाँच गरिएको थियो । सहभागी चालक तथा सहचालकलाई सुरक्षित सवारी सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै सहभागिताको प्रमाणपत्रसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।
विद्यालय यातायातलाई थप सुरक्षित, व्यवस्थित र दुर्घटनामुक्त बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले चालक तथा विद्यालय व्यवस्थापनलाई ट्राफिक सचेतनाप्रति थप जिम्मेवार बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation