मसुरिया, २८ असार ।
दाङको राप्ती गाउँपालिकामा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन शनिबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड), आर्थिक करिडोर बुटवल कार्यालयले निर्माण गरेको उक्त भवन आयोजनाका प्रमुख डा. उत्तमकुमार आचार्यले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई हस्तान्तरण गर्नुभयो ।
करिब २ करोड ८९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याब, उपचार प्रयोगशाला कक्ष, तालिम हल तथा कृषि तथा पशुपन्छी सेवाका लागि आवश्यक आधुनिक पूर्वाधारहरू समेटिएका छन् ।
भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि र पशुपन्छी क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो । उहाँले नयाँ भवन सञ्चालनमा आएपछि किसानले गुणस्तरीय प्राविधिक सेवा, माटो परीक्षण, पशु स्वास्थ्य परीक्षण तथा विभिन्न तालिम स्थानीयस्तरमै प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले कृषि उत्पादन वृद्धि, व्यवसायिक कृषि प्रवर्द्धन तथा किसानको आयआर्जन बढाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बुटवलका प्रमुख डा. उत्तमकुमार आचार्यले भवनमा तालिम हल, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याबलगायत आवश्यक सम्पूर्ण सुविधा समावेश गरिएको जानकारी दिनुभयो । उहाँले भवनको प्रभावकारी सञ्चालनमार्फत स्थानीय किसानलाई सहज र गुणस्तरीय सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
भवन निर्माणको जिम्मेवारी बिकेओई बिल्डर्स, काठमाडौंले पाएकाे थियो ।
कार्यक्रममा भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी उमाकान्त घिमिरेलाई सम्मान गरिएको थियो ।











