दाङ २५ पुस । दाङ-देउखुरीको राप्ती गाउँपालिका–५, कालापानी सिसहनियाँमा आज देखि दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ को सुरू भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभुत अस्पतालको पुर्वी भागमा महोत्सव सुरू भएको हो ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्नु भएको छ । महोत्सव उद्घाटन गर्दै मन्त्री न्याैपाने बढ्दो विदेशीने युवाहरूलाई रोक्न तीन तहकै सरकारले तालिमको व्यवस्था गरि रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताउनुभयाे । उहाँले यस क्षेत्रको कृषि, पर्यटन तथा संस्कृति संरक्षणमा महोत्सवले थप टेवा पुग्ने बताउनुभयाे ।
संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा दाङ जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमे खड्का, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बाल कृष्ण सुवेदी, राप्ती उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योगपति जगतप्रसाद, सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । संघका उपाध्यक्ष युवराज सेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको महोत्सव उद्घाटन कार्यक्रमको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गर्नु भएकाे थियाे । महाेत्सवमा स्थानीय कलासंस्कृति झल्किने गरी करिब एक दर्जन संघसंस्थाहरूले झाँकी प्रदर्शन समेत गरेका थिए ।
यसैबीच महोत्सवमा माघ ३ देखि ५ गते राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट वा वडा नम्बर ५ करङ्गेकोटबाट प्याराग्लाइडिङ उडाएर महोत्सव स्थल सम्म ल्याण्डिङ गराउने गरी तयारी भएको संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले बताउनुभयाे । प्याराग्लाइडिङले दर्शकहरुलाई थप आकर्षित गर्ने र पर्यटकीय क्षेत्रको अवलोकन तथा मनोरञ्जनमा थप मद्दत पुग्ने अपेक्षा लगिएको छ । महोत्सवबाट २ करोड बराबरको कारोवार गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । १२ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिनुभयाे ।
महोत्सवमा १ सय ५० बढी स्टल रहेको छ र त्यसमध्ये १२ वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहेको छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको महाेत्सवका प्रेस संयाेजक सन्ताेषकुमार गुप्ताले जानकारी दिनु भएकाे छ ।