
ब्यांकर्सको संस्था नेपाल ब्यांकर्स संघको बुधबार बसेको बैठकले माघमा मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतमा झार्ने निर्णय गरेको हो । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.३३ प्रतिशत थियो ।
ब्यांक तथा वित्तीय संस्थामा तरलताको स्थितिमा सुधार हुँदै गएपछि संघले मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ । निक्षेपको ब्याजदर घटेपछि ब्यांकहरूको आधारदर कम भई कर्जाको ब्याजदर समेत सस्तो हुनेछ ।
ब्यांक कर्जाको ब्याजदर महंगो भएको भन्दै देशभरिका उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन् । अहिले वाणिज्य ब्यांकबाटै ऋण लिँदा १५–१६ प्रतिशत सम्म ब्याजदर तिर्नुपरेको उनीहरूको गुनासो छ ।
केन्द्रीय ब्यांकका अधिकारीहरूले पनि तरलताको स्थितिको सुधार तथा देशको बाह्य क्षेत्रमा सुधारोन्मुख स्थितिका कारण ब्याजदर घट्ने बताउँदै आएका थिए । केन्द्रीय ब्यांकले वाणिज्य ब्यांकहरूलाई ब्याजदर घटाएर सुधारको संकेत दिन अनौपचारिक रुपमा सुझाव दिँदै आएको थियो ।
पछिल्लो समयमा ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको स्थिति सुधारोन्मुख छ । राष्ट्र ब्यांकका अनुसार, सोमबारसम्म ब्यांक तथा वित्तीय संस्थामा निक्षेप रकम ५३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । कूल कर्जा रकम ४७ खर्ब ७८ अर्ब रुपैयाँ छ ।
कर्जा निक्षेप अनुपात ८६.६५ प्रतिशत छ । यो अनुपात ९० प्रतिशत हुँदासम्म ऋण दिन पाइने सीमा छ । ब्यांकहरूबीचको अन्तरब्यांक ब्याजदर पनि ६.१४ प्रतिशतमा ओर्लिएको केन्द्रीय ब्यांकले जनाएको छ ।
यससँगै संघको विशेष साधारणसभाले एनएमबी ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । यसअघिका अध्यक्ष अनिल उपाध्याय कृषि विकास ब्यांकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएपछि केसी अध्यक्ष चुनिएका हुन् ।