निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी गरेको छ । फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने तयारी गरिएको आयोग स्रोतले जानकारी दिएको छ ।
‘फागुन २५ मा राष्ट्रपति निर्वाचन र चैत पहिलो साता उपराष्ट्रपति निर्वाचन गर्ने तयारी छ, यसबारे आयोगमा छलफल भइरहेको छ, सम्भवत आजै मिति तय गरेर निर्वाचन तालिका आउँछ,’ आयोग स्रोतले भन्यो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनले आयोगले चुनाव मिति तोक्ने र त्यसको जानकारी नेपाल सरकारलाई दिने व्यवस्था रहेको छ ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन् ।
संविधानमा भएको व्यवस्था र राष्ट्रपति निर्वाचन सम्बन्धी ऐनका व्यवस्था आपसमा बाझिएको भन्दै मिति तोक्न ढिलाइ भइरहेको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ अघि नै राष्ट्रपति निर्वाचन गरिनुपर्ने माग राखेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भएको छलफलमा पनि राष्ट्रपति निर्वाचन मितिबारे कुराकानी भएको थियो ।