काठमाडौं । फागुन ५ गतेबाट प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले प्रचारप्रचार सुरु गरिसकेको छ । तर, सोही मितिमा प्रदर्शन हुने तय भएको फिक्स ‘परदेशी २’को टिम भने गुमनाम छ । रिलिजको छाँटकाँट नदेखाएपछि प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को प्रदर्शन मिति सर्ने हल्ला चल्न थालेको छ ।
नारायण रायमाझी निर्देशित यो फिल्म गत असोज १४ गते रिलिज हुने भनिएको थियो। तर, एकसाताअघि ‘प्रेमगीत ३’ रिलिज हुने भनेसँगै फागुन ५ का लागि रिलिज डेट तोकियो । तर, यो मितिमा पनि ‘परदेशी २’ प्रदर्शन हुने अन्योल छ ।
प्रदर्शनको विषयमा सोध्दा निर्देशक रायमाझीले केही दिनमा औपचारिक निर्णय गर्ने सुनाएँ। उनले भने, ‘अहिले फिल्मको सुटिङको काम भइरहेको छ । केही दिनमा प्रोड्युसरसँग सल्लाह गरेर हामी निर्णय गर्नेछौँ ।’
उनको जवाफबाट फिल्मको प्रदर्शन मिति सर्ने पक्का जस्तै छ । जसले प्रकाशलाई पहिलो गाँसमा नै ढुंगा परेजस्तो भएको थियो । किनकी केहीअघि प्रकाशले यो फिल्म रिलिज नभएसम्म अर्को फिल्ममा काम नगर्ने बताएका थिए। जसकारण प्रकाशले ‘हिरो’ बनेर पर्दामा देखिन अझै कुर्नुपर्ने देखिन्छ ।
यो फिल्म हिट फिल्म ‘परदेशी’को सिक्वेल हो। ‘परदेशी २’ मा प्रकाशका साथै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । नारायण र राजेश बंशल निर्माता रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् ।