मङ्लबार, चैत्र ४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

घरबेटी बुवाको प्रेम

काठमाडौंको बसाइ, पढाइ, काम आफ्नै व्यक्तिगत समस्यामा अल्झिएको जीवन । बिहान छ बजे निस्केको बेलुका सात/आठ बजे कोठामा पुगिन्थ्यो । सहरमा घर मात्रै नजिक हुने हुन्, आत्मीयता खासै नजिक हुँदैन ।

आफ्नै गाउँ-ठाउँका मानिस पनि यहाँ अन्जानजस्तै हुन्छन् । त्यसैले घरबेटीसँग पनि नजिक हुने कुरा भएन ।

शनिबारको दिन थियो, खाना खाएर बाहिर भाडा माझ्दै थिएँ । उताबाट लौरो टेग्दै हजुरबा आउनु भयो । मैले उहाँलाई पहिलो पटक देख्दै थिएँ । ‘नमस्कार हजुरबा!’ भन्न नपाउँदै उहाँले भन्नु भो, ‘घर कहाँ हो नानी ?’

मेरो घर पश्चिम हो, हजुरको घर कहाँ नि हजुरबा ?’

‘मेरो पनि पश्चिम हो तर घरमा कोही छैन । यो मेरो छोराको घर हो, केही समय भयो यहाँ बस्न थालेको ।’                                                                             

‘छोराको घर पनि आफ्नो घर हैन र हजुरबा ?’

हुँन त हो नानी’ भन्दै हजुरबा गफिन थाल्नु भयो । मलाई पनि बच्चा र बुढापाका मान्छेको गफ सुन्न रुचि लाग्ने, उहाँहरूमा भगवानको रुप हुन्छ । अझ वृद्ध बा-आमा त मलाई जिउँदो इतिहास वा सिङ्गगो विश्वविद्यालय लाग्छ ।

हजुरबाका गफ सुन्दै थिएँ, मन भारी भयो । मनमनै प्रश्न गरेँ, ‘किन यस्ता दुःखका कुरा गर्नु हुन्छ ? काठमाडौंमा घर, गाडी, टन्न बैंक ब्यालेन्स, सुबिधा सम्पन्न परिवार’ तर हजुरबाको कुरामा सम्पन्नताको कुनै झल्को थिएन । बीचमै कुरा काटेर सोधेँ, ‘हजुरबा, आमा कहाँ हुँनुहुन्छ नि ?’

‘आमाले छोडेर गएको बिस वर्ष भयो नानी । सायद ऊ भगवानकी प्यारी थिई । हामी बिहे गर्दा म दश र ऊ सात वर्षकी थिई । भाँडाकुटीजस्तै हुन्थ्यो त्यो समयको बिहे तर रमाइलो । अहिले सम्झिँदा पनि खुसी लाग्छ । बिहे भएको केही वर्ष ऊ माइतमै बसी । पछि घर आए पनि हामी एकअर्कालाई हेर्दै लजाउथ्यौं, बोल्न डराउथ्यौं, इसारामै सब कुरा गर्थ्यौं, के गर्नु ? आजभोलि जस्तो मोबाइल थिएन तर पनि बच्चा बेलाको माया साह्रै मिठो, रसको रङ्गको लोभ लाग्दो ।

त्यो बेला हामीहरूलाई पढ्न पर्थेन । घरको काम चाहिँ सानैदेखि गर्नुपर्ने । बिहे भएको छ/सात वर्षपछि त हामी पनि जवान भएको अनुभव गर्न थाल्यौं । गफ गर्दै, हाँस्दै, बोल्दै, जिस्किँदै हिँड्न थाल्यौं । हामीलाई हाम्रो मायाले जित्यो । एकअर्काको औधि माया लाग्ने हाम्रा दौँतरी भने घर समाजको डरले लुकेर माया लगाउँथे । हाम्रो माया झाङ्गिँदै गयो ।

१७/१८ वर्षमा त ‘फेरि बिहे गरौं’ भन्दै म उसलाई जिस्काउँथें । हाम्रो झगडा खासै हुन्थेन एक दिनको कुरा हो, दुवैजना खेतबाट घाँसको भारी बोकेर गफिँदै उकालो लाग्यौं । बीच बाटोमा थकाइ मेटाउन भारी बिसाएर गफ गर्दै थियौं । गफैगफमा मैले ‘फलनाको बुढी त कति राम्री है, बोली पनि कति मिठो, त्यस्तै बुढी भए पो’ के भनेथेँ जीवनमा पहिलो पटक उसको अनुहारमा रिस देखेँ ।

म झन् जिस्काउन थालेँ । ऊ रिसले आगो बनी र घाँसको भारी बोक्दै थिई चिप्लिएर आधा बाटो ल्याएको घाँस फेरि खोलामै पुग्यो त्यसबेला उसको अनुहार हेर्न लायक भएको थियो । आधा घण्टा लगाएर फकाएँ अनि उसलाई मेरो भारी बोकाएर घर पठाय म घाँसको भारी खोज्न खोलातिर लागेँ ।

त्यसपछि मैले थाहा पाएँ, नारीले केही सहन सक्दिन भने त्यो हो आफ्नो श्रीमानले परस्त्रीको कुरा गरेको । त्यस दिनदेखि मैले वाचा गरेँ, यस्ता कुरा गरेर उसको मन कहिले दुखाउने छैन । आजभोलि त मान्छे बिहे भन्दा डराउँछन् । अहिलेका मान्छे पैसा खान्छन्, पैसा लगाउँछन्, पैसामै सुत्छन्, पैसामै उठ्छन् ।

पैसामा कुनै रस, रङ्ग, माया र भावनात्मक सम्बध हुँदैन । यसले वस्तुको मुल्य तोक्ने हो, केही सुबिधा दिने हो । हामीले माटोमा काम गर्यौं, गाईभैँसी पाल्यौं, माटोमै सुत्यौँ, खाली खुट्टा हिँड्यौं । माटोमा जे फल्छ त्यही खायौं जब मान्छे प्रकृतिसँग रम्छ वा प्राकृतिक हुन्छ मान्छेमा झन् धेरै माया पलाउँछ ।

समय धेरै बितिसकेको थियो । हाम्रा तीन छोरा र एउटी छोरी थिई । उनीहरूको पढाइ, लेखाइ, बिहेदान गरेर सकिसकेका थियौं । हामीलाई आफ्नो कर्तब्य पुरा गरेको आभास हुन्थ्यो । सबै आ-आफ्नो बाटो लागे, हामी बुढाबुढी मात्र घरमा बसेका थियौं । नानी, जीवन सधैं सोचेजस्तो नहुने रहिछ । जीवनमा एउटा सिटामोलसम्म नखाएकी मेरी बुढीलाई प्राणघातक रोग क्यान्सर लाग्यो ।

यो रोग सुन्ने बित्तिकै मेरो दिमागमा मृत्युले बास गर्यो । छोराहरूको कार्य व्यस्तताले गर्दा उसलाई अस्पतालमा भर्ना गरेर कुरुवा म बसेँ । बुझ्दै जाँदा उसलाई निको नहुने क्यान्सर लागेको रहेछ । अब मृत्यु कुरेर बस्नुभन्दा अर्को विकल्प भएन । माया त हामी सानैदेखि थाहा पाएर वा अन्जानमै एकअर्कालाई गर्यौं तर अब ऊ मभन्दा मृत्युसँग नजिक छ भन्ने थाहा भएपछि मायामा आँसु मिसियो र पानी बनेर बग्न सुरु गर्यो ।

छोरीमान्छे कोमल हुन्छन्, पीडा आँसुबाट बगाउँछन् तर म छोरो मान्छे रुनु, कसैलाई दुःख सुनाउनु कमजोरीको उपमा पाउनु थियो । आँसु आँखामै लुकाउथेँ, पीडा मनमै दबाउथेँ । सोच्थेँ, हातखुट्टाको रोग भएको भए पनि काटेर फाल्दिन्थेँ र बाँकी रहेको जीवन उसकै सेवा गरेर बस्थेँ तर जीवनमा यतिसम्म लाचार हुनुपर्ला भनेर मैले कहिले सोचिनँ ।

अस्पतालको शय्यामा ऊ छटपटाउँदा मलाई त्यही अस्पताल ऊभन्दा एक मिनेटअघि मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर अर्को मनले हैन, अन्तिम घडीसम्म म उसको साथमा रहनु पर्छ । चौबिसै घण्टा उनको अनुहार हेर्दै उसकै हात समाएर बस्थेँ । उसको शरीरबाट रगत झिक्दा, सुई लगाउँदा मलाई झन् पीडा हुन्थ्यो । ऊ आफै आफ्नो शरीर कोल्टो फर्कन सक्ने अवस्थामा थिइन ।

बेलाबेला दुखाइ सहन गाह्रो भएर ‘आमा’ भन्दै चिच्याउथि । ऊ घाउको पीडाले चिच्याउँथी, म उसको पीडाले मनमनै जल्थेँ । मनको पीडा झन धेरै घातक हुने रहेछ, न कसैले देख्ने न देखाउन मिल्ने । यसरी अस्पतालको शय्यामा उसका पीडा सहन मलाई साह्रै गाह्रो भयो । मसँग धनसम्पत्ति, पैसा आफन्तको कुनै अभाव थिएन तर मृत्युसँग नसकिने रहेछ ।

एकदिन अचानक मेरो मनमा पाप पलायो । ‘डक्टरसाब मेरी श्रीमतीलाई बचाइदिनु, यदि बचाउन सक्नु हुन्न भने उसको शरीरमा सिरिन्जबाट उसलाई मार्ने औषधि पठाइदिनु । म अब उनको पीडा सहन सक्दिनँ,’ भनेँ ।

डाक्टरलाई यो कुरा स्वीकार्य भएन । फेरि सोचेँ, यिनीहरूले पैसाको लागि यो लास बनेको शरीर अस्पतालमा राखिरहेका त छैनन् ? पापी मनले पाप मात्र सोचिरह्यो । उसलाई पनि सबैभन्दा चिन्ता मेरै थियो । होसमा थिई वा बेहोसमा, आँखाभरि आँसु बनाएर भनी- ‘कान्छो छोरासँग बस्नु है ।’

यो उसको अन्तिम वचन थियो । यही वचनसँगै ऊ भगवानकी भई । ऊ भइन्जेल त मलाई उसका पीडाहरूले दुख्थ्यो, जिउँदै जस्तो आभास हुन्थ्यो । त्यो दिनदेखि मेरो पनि आत्मा मरेर भौतिक शरीर मात्रै रहेजस्तै लाग्यो ।

त्यसपछि जीवन नितान्त एक्लो भयो । छोराछोरी आ-आफ्नो तरिकाले बसेका थिए । कान्छो छोरा विदेशमा थियो, उसका परिवार यहीँ काठमाडौंमा थिए । अरु छोराले मलाई छ-छ महिना गरेर पाल्ने निणर्य गरे । उनीहरूले मलाई सम्पत्तिजस्तै भागबन्डा लगाउन थाले । म एक्लै आफ्नो थलोमै बस्ने निर्णय गरेँ ।

उसले बेलाबेला भन्ने गर्थी- ‘म मरेपछि थाहा पाउनु होला छोरा-बुहारीले कस्तो व्यवहार गर्छन् अनि मेरो याद आउने छ । म तपाईंभन्दा १५/२० दिन भए पनि अघि मर्ने हो ।’

ऊ म भन्दा अघि नै भगवानकी भई तर २० दिन भन्थी, आज २० वर्ष पुग्यो नानी । छिमेकीले भन्थे- एक्लो जीवन बिताउन गाह्रो हुन्छ, दुःख पाएकी केटी बिहे गर्नुस् । मैले उसको बालापनदेखि जीवनको अन्तिम घडीसम्म पाएको माया कसैले मेटाउन सक्दैन । ऊ मलाई छोडेर गएकी हैन, मरेर गएकी हो । अरुमा पनि उसकै खोजी हुँनेछ र म झन् दुखी बन्नेछु । त्यसैले निर्णय गरेँ, अबको बाँकी जीवन उसकै यादमा बिताउने छु ।

मनमा, दिमागमा बेचैनीले बास पायो । कोही आफ्ना छन् जस्तो लागेन । आफ्ना भएकाले पनि आफ्नो हुनुको आभास दिएनन् । श्रीमतीहरू आफ्नो बुढाभन्दा पहिला मर्नु भाग्यमानी ठान्छन् तर श्रीमती मरेपछि बाँचेको श्रीमानजस्तो अभागी कोही नहुने रहिछ नानी ।

म मरेर ऊ बाचेको भय घर हराभरा हुन्थ्यो नातिनातिना, छोराबुहारी, छोरीज्वाइँ, इष्टमित्र सबै आउँथे । मैले जसरी एक्लो हुन पर्थेन होला । म प्रत्येक दिन उसको तस्बिरमा पुजा गरेर जल चढाउथेँ र भन्थेँ- मलाई पनि तँ सँगै लैजा ।

एकदिनको कुरा हो नानी, वर्षातको समय खोलामा बाढी आएको थियो । बिहानै उठेँ, उसको तस्बिर पुजा गरेँ र ‘अब म तँ भएकै ठाउँमा आउँछु’ भन्दै खोलातिर हानिएँ तर धमिलो मनले पनि धमिलो पानीमा हाम फाल्नु कायरता सम्झिएँ र फर्किएँ । एक मनले भन्यो वृद्धाश्रम जान्छु, भएको सबै सम्पत्ति त्यही दान गर्छु । फेरि अर्को मनले सोचेँ, मेरो कान्छो छोरो छ मनको कुरा बुझ्ने, उसले के भन्ला ?

कान्छाकी जेठी छोरी काटीकुटी हजुरआमाको रुप लिएर जन्मेकी छ । औधि माया गर्छे । स्कुल बिदा हुने बित्तिकै हजुरबा भन्दै गाउँ जान्थी । घर-आँगन सफा गर्थी । मेरा ओड्ने, ओछ्याउनेदेखि लिएर सबै लुगा धुन्थी । ‘हजुरबा हिँड्नु काठमाडौं जाउँ, हजुरलाई माया म गर्छु, म यहाँ बसौँ भने मेरो पढाइ उता छ’ भन्दै फकाउँथी ।

‘तिमीहरू भाडामा बसेका छौ, बाबालाई घर बनाउन भन अनि म तिमीहरूसँग बसौंला’ भन्दै जिस्काउँथें । नभन्दै छोराले घर बनायो । अहिले म कान्छो छोरासँग छु । बुढीको अन्तिम वचन पुरा भएको छ । ऊ पनि खुसी भएकी होली तर म मृत्यु कुरेर उसको यादमा बाचेको छु ।

नानी, यो संसारमा निःस्वार्थ माया गर्ने भनेको बाउआमा र गतिलो पर्यो भने आफ्नो जोडा रहेछ । जोडा छुटेपछि त बुढेसकालले काल मात्र खोज्दो रहेछ ।’

भूतकाल, वर्तमानकाल, भविष्यकाल पढेर आएकी म, हजुरबाको कुरा सुनेपछि बुढेसकालजस्तो डरलाग्दो कुनै काल लागेन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation