
दाङ । देउखुरिमा विद्युत भोल्टेज कम हुँदा राप्ती गाउपालिकाका ग्राहक मर्कामा छन् । विद्युत भोल्टेजको अपर्याप्तताले कम्प्युटर तथा फ्रिज पंखा चलाउन गाह्रो भइरहेको उपभोक्ताले जनाएका छन् ।
भोल्टेजको कमीले राप्ति गाउपालिकाका अस्पतालमा एक्सरे मेशीन चलाउन पनि समस्या परेको छ भने कतिपय उपभोक्ताले विद्युत भएकै बेला पनि जेनेरेटर चलाउनु परिरहेको छ ।
विद्युत भोल्टेज कम भएर उपभोक्ता मर्कामा परेका भए पनि जिम्मेवारी लिएका निकाय तथा अधिकारीहरू उपभोक्ताले बेहोर्नु परिराखेको समस्या प्रति गम्भीर भने पटक्कै छैनन् ।
विद्युत भोल्टेज कम हुदा पनि विद्युत कार्यालय लमहीले आफुभन्दा माथिल्लो निकायमा जानकारी सम्म पनि गराएको छैन ।
अर्कोतिर, कुनवेला विद्युत आपूर्ति बन्द हुन्छ ? भन्ने पनि ठेगान हुन्न यहा । दैनिक करिब ६/७ पटक जति विद्युत आपूर्ति बन्द हुने गरेको छ ।
विजुली जाने र आउने टुंगो नै नभएपछि सेवाग्राहीहरू हैरान छन् । विद्युत प्राधिकरणका कर्मचारीहरूले सकेसम्म फोन नै नउठाउने र उठाइहाले पनि झाराटार्ने ढंगले माथिबाटै लाइन गएको हो भन्ने जवाफ दिने गरेका छन् ।
केही अवधि लोडसेडिङ कम भए पनि दिनरात जुनसुकै वेला पनि विद्युत आपूर्ति बन्द हुनाले उपभोक्ता हैरान छन् ।