
निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार-संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्ट पारेको हो ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसपटक उम्मेदवारी दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा ठूलो भीड हुने छैन । विगतमा उम्मेदवारी दर्ताका क्रममा दलहरू शक्ति प्रदर्शन गर्ने र सकेसम्म धेरै जना लिएर निर्वाचन अधिकृतको कार्यालय पुग्ने गरेकामा यसपटक यस्तो गर्न पाइने छैन । यसपटक उम्मेदवारी दर्ता गराउन एउटा दलबाट २५ जनाभन्दा बढी निर्वाचन अधिकृतको कार्यालय जान नपाइने आचारसंहितामा उल्लेख छ । सोही कारण थोरैको संख्यामा उपस्थिति हुँदा काम गर्न सहज र व्यवस्थित पनि हुने आयोगको निष्कर्ष छ ।
‘दर्ताको लागि व्यवस्थित गर्न, भीडभाड हुन नदिन, मितव्ययी होस् र सुव्यवस्थित रुपमा मनोनयन दर्ता प्रक्रिया अघि बढोस् भन्नका लागि अहिलेको आचारसंहिताले केही कुरालाई सम्बोधन गरेको छ । एकदमै तामझाम र बाजागाजासहित आउने विगतको प्रचलन थियो, त्यसलाई केही अनुशासनवद्ध गराउन २५ जनाभन्दा बढी त्यस्तो खालको मनोनयनमा नआइदिन आयोगले आचारसंहितामा गर्न नहुने कार्यभित्र राखेर निर्देशन दिइसकेको हुनाले दल वा स्वतन्त्र उम्मेदवारले सो समयमा निश्चित संख्यामा आएर दर्ता गर्नुहुन्छ’, अर्यालले भने, ‘निर्वाचन अधिकृतले धेरैजसो निर्वाचन क्षेत्रमा आज र भोलि उहाँहरूले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गर्नुहुन्छ । कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचरणद्ध गराउने ? भन्ने तरिकाले निर्वाचन अधिकृतले छलफल गरिसकेपछि मनोनयन दर्ता बढी व्यवस्थित अनुशासन र आचारसंहिताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता कार्यक्रम हुनेछ ।’
सहप्रवक्ता अर्यालले निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रको उम्मेदवारी संकलन गर्ने बताए । प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षका लागि उम्मेदवारहरूको विवरण संकलन गर्ने उनले बताए । निर्वाचन अधिकृतहरूले प्रतिनिधि सभाको लागि छुट्टै कक्ष र प्रदेश सभाको १ को लागि छुट्टै र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा तोकिएको समयभित्र दर्ताको व्यवस्था मिलाइने बताए ।