मसुरीया २५ माघ । दाङको राप्ती गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने २ वडा सचिव सहित ६ जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले दोस्रो गाउँसभाको छैठौं अधिवेशनकाे अवसरमा शुक्रबार उहाँहरुलाई सम्मान गरेको हाे ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीका अनुसार वडा नम्बर २ का वडा सचिव सीता भण्डारी, ९ का सचिव राजेन्द्र विक्रम चाैधरीलाई सम्मान गरिएको हाे ।
त्यस्तै पालिकाकाे आर्थिक प्रशासन शाखाका सह लेखापाल रेशमराज अधिकारी, शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवी मल्ल, राप्ती आधारभूत अस्पताल कालापानीका सिनियर अनमी निरीक्षक मनमाया राेका र कार्यालय सहयोगी झविलाल सुवेदी पनि सम्मानित हुनुभएको छ ।
सम्मानित हुनु हुने सबै कर्मचारीहरुलाई जनही २ हजार ७ सय रुपैयाँ नगदसहित सम्मान पत्र, टीका र दाेसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न कार्यक्रममा सम्मान गर्दै आएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।
त्यस्तै उहाँले सम्मानले समग्र गाउँपालिककाे कार्यसम्पादनमा सकारात्मक प्रभाव ल्याउने र आगामी दिनमा सबै कर्मचारीहरू उत्कृष्ट हुने गरी कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।











