देउखुरी २९ माघ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्रोतसाधनको पुनः प्रयोगलाई प्रोत्साहन गर्न नयाँ कदम चालेको छ ।
राप्ती गाउँपालिका २, पुण्यपुरमा फोहरमैला प्रशोधन उद्योग सञ्चालनमा आएको छ । जसले गाउँपालिकाको समग्र वातावरणीय व्यवस्थापनलाई नयाँ दिशा दिने विश्वास गरिएको छ ।
सोमबार आयोजित एक विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्योगको उद्घाटन गर्नुभएको छ । उक्त उद्योग राप्ती गाउँपालिका र ईको फेमिली प्राइभेट लिमिटेड, हेटौंडाको सहकार्यमा स्थापना गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले फोहर व्यवस्थापन गाउँपालिकाका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै यस उद्योगले वातावरण संरक्षणका साथै फोहरलाई पुनः प्रयोगयोग्य स्रोतमा रूपान्तरण गर्न टेवा पुग्ने बताउनुभयो ।
“सफा, हराभरा र समृद्ध राप्ती निर्माणका लागि यो उद्योग महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ”, अध्यक्ष विष्टले भन्नुभयो । गाउँपालिकाभित्र दैनिक रूपमा ठूलो मात्रामा उत्पन्न हुने फोहरमैला उचित व्यवस्थापनको अभावमा वातावरण प्रदूषण बढ्दै गएको अवस्थामा यो उद्योग सञ्चालनमा आउनु स्थानीयवासीका लागि राहतको विषय बनेको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।











