बुधबार, कार्तिक २०, २०८२

विद्यार्थीहरुलाई संस्कार र संस्कृतिका विषयमा शिक्षा दिन जरुरी छ : मन्त्री चौधरी

लमही ७ फागुन लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा चौधरीले निजी तथा सरकारी सबै तहका विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई संस्कार र संस्कृतिका विषयमा शिक्षा दिन जरुरी रहेको बताएकी छिन् ।

बुधवार दाङ देउखुरीको लमही स्थित देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयको १७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सो कुरा बताएकी हुन् । प्रमुख अतिथि समेत रहेकी मन्त्री चौधरीले शिक्षा क्षेत्रलाई समृद्ध बनाउन प्रदेश सरकारले पनि नयाँ ढंगले योजना बनाईरहेकोले शिक्षक, अभिभावक र बिद्यार्थीहरुको त्रिपक्षिय समन्वय सहकार्यले मात्र विद्यालयको शैक्षिक उन्नयन गर्न सकिने बताएकी छिन् ।

विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप, संस्कार संस्कृतिका ब्यवहारीक ज्ञान दिनुपर्ने आजको आवश्यकता भएको भन्दै देउखुरी पब्लिक माबिले नयाँ ढंगले शैक्षिक समृद्धिमा फड्को मार्न सकोस भन्दै बिद्यालयको शैक्षिक र भौतिक उन्नयनको कामना व्यक्त गरिन् । छोटो समयमा यस विद्यालयले गरेको शैक्षिक र भौतिक प्रगतिको समेत उनले प्रशंसा समेत गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीले ड्रोन उडाएर तथा विद्यालयको ताम्रपत्र अनावरण गरेर बार्षिकोत्सव तथा विद्यालय भवनको उद्घाटन समेत गरिन् । कार्यक्रममा नेपाल अभिभावक संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रामप्रसाद गैरेले शिक्षक्षेत्रलाई समृद्ध बनाउन र बिद्यार्थीहरुलाई सकारात्मक संस्कार सिकाउन अभिभावकहरुको प्रमुख दायित्व रहेको औंल्याए ।

कार्यक्रममा देउखुरी होटल ब्यवसायी संघका अध्यक्ष नारायण प्रसाद भुसाल, शिक्षाप्रेमी समाजसेवी शेरबहादुर चौधरी, रेडक्रस उपशाखा लमहीका ताराप्रसाद खनाल, एन प्याप्सन गढवाका अध्यक्ष तथा नेपाल बोर्डिङ स्कूल गोबरडिहाका प्रिन्सिपल निर्मल रावत, डिभेन बोर्डिङ स्कूल गोबरडिहाका प्रिन्सिपल भानु प्रसाद यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओम प्रकाश गुप्ता र सिधापत्र अनलाईनका प्रबन्धक मेघमन बुढा लगायत दर्जनौं व्यक्तित्वहरुले बार्षिकोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रम बिद्यालयका प्रबन्धक तथा प्रिन्सीपल भुमाण्डब केसीले प्रस्तुत गरेका थिए । कार्यक्रममा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले मौलिक लोककला प्रदर्शन गरेको थियो भने विद्यालयका विद्यार्थीहरुले विभिन्न भेषभुषा झल्कीने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले अतिरिक्त कृयाकलाप तथा तेक्वान्दो खेल समेत प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक मोहनलाल घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक सन्दिप खनालले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation