बुधबार, कार्तिक २०, २०८२

नेपाल मगर संघ राप्तीले भव्य रूपमा मनायो ४३औँ राष्ट्रिय मगर एकता दिवस

भालुबाङ १५ फागुन । नेपाल मगर संघ राप्ती गाउँपालिका समितिले ४३औँ राष्ट्रिय मगर एकता दिवस बिहीबार भालुबाङमा भव्य रूपमा मनाएको छ ।

नेपाल मगर संघ राप्ती गाउँपालिका समितिका अध्यक्ष हिरा झाँक्री मगरको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्य र नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहकार डा. भोजविक्रम बुढा मगरकाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रकाश विष्टले मगर समुदायको भाषा, संस्कार, परम्परा र पहिचानको संरक्षणका लागि सबै तहका निकाय तथा समुदाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले मगर समुदाय इमानदार र राष्ट्र प्रति कर्तव्य निष्ठ समुदाय भएको बताउदै हरेक राजनीतिक परिवर्तनमा मगर समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयाे ।

त्यस्तै अध्यक्ष विष्टले गाउँपालिकाले मगर सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि डा. भोजविक्रम बुढा मगरले मगर समुदायको सामाजिक, सांस्कृतिक तथा राष्ट्रिय विकासमा पुर्‍याएको योगदान उल्लेख गर्दै पहिचान जोगाउन सबै मगरहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो पुस्ताले भाषा र संस्कृति भुल्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मगर भाषालाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्का, वडा नम्बर २ का वडा सदस्य मन बहादुर पुन मगर,नेपाल मगर शिक्षक संघका केन्द्रीय सञ्चार सचिव कृष्णबहादुर बुढा मगर,नेपाल मगर संघ लुम्बिनी प्रदेश भाषिक उपाध्यक्ष इराधा झाक्री मगर लगायत मगर अगुवाहरुकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिनुका साथै मगर समुदायको परम्परागत झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

नेपाल मगर संघ राप्ती गाउँपालिका समितिका उपाध्यक्ष कृष्ण पुन मगरले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन सचिव टीका बहादुर पुन मगरले गर्नु भएको थियो ।

नेपाल मगर संघको स्थापना दिवसका रूपमा फागुन १५ गते मनाइने मगर एकता दिवस मगर समुदायको भाषा, संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई आफ्नो पहिचानबारे जानकारी गराउन महत्वपूर्ण मानिन्छ ।

विसं २०३९ मा तनहुँमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको स्मरणमा यो दिवस मनाउने परम्परा रहेको छ। पछि विसं २०४८ को चौथो महाधिवेशनले संघको नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ राखेको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ, जसले कुल जनसङ्ख्याको ६.९ प्रतिशत ओगटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation