मङ्लबार, कार्तिक १९, २०८२

राप्ती गाउँपालिकाको सरसफाइ तथा स्रोत केन्द्र: फोहोरलाई स्रोतमा रुपान्तरण गर्दै उत्पादन सुरु

भालुबाङ १० चैत । दाङको राप्ती गाउँपालिका वडा नं. २ पूण्यपुरमा सञ्चालनमा ल्याइएको सरसफाइ तथा स्रोत केन्द्रले वातावरणमैत्री उत्पादनको थालनी गरेको छ ।

फोहोरलाई पुन: प्रयोग गरेर उपयोगी सामग्री उत्पादन गर्ने यो केन्द्रले हाल प्लास्टिकजन्य फोहोरबाट इन्टरलक र टायल उत्पादन सुरु गरिसकेको छ ।

त्यस्तै अन्य फर्निचरजन्य सामग्री सँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको छ ।

राप्ती गाउँपालिकाले स्वच्छ र सफा पालिका बनाउने उद्देश्यसहित इको फ्यामिली प्रा. लि. हेटौंडासँग सहकार्य गरी यो केन्द्र सञ्चालनमा ल्याएको हो ।

इको फ्यामिली प्रा. लि.का सञ्चालक रूपेश राज कुँवरका अनुसार, केन्द्रले फोहोरलाई बिना प्रदूषण उपयोगी सामग्रीमा रुपान्तरण गर्दै वातावरणीय संरक्षणमा ठूलो योगदान पुर्‍याएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार, यो परियोजना पालिकाको दीर्घकालीन वातावरणीय योजनामा महत्वपूर्ण टेवा पुर्‍याउनेछ ।

“फोहोर व्यवस्थापनमा नवीनतम प्रयोग गर्दै स्वच्छ र हरित पालिका निर्माण गर्ने हाम्रो प्रयास यस केन्द्रले सुनिश्चित गरेको छ । यो केवल उत्पादनमा सीमित छैन, अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ,” अध्यक्ष विष्टले बताउनुभयो ।

यस प्रकारको परियोजना सम्भवत नेपालमै पहिलो भएको र यसले देशका अन्य स्थानीय तहहरूका लागि उदाहरणीय अभ्यासको रूपमा काम गर्ने विश्वास गरिएको छ ।

“यो नेपालमै पहिलो पटक फोहोरलाई यस प्रकार वातावरणमैत्री उत्पादनमा रुपान्तरण गर्ने परियोजना हो । यसको सफलता भनेको स्थानीय सरकारहरूको क्षमतामा नयाँ युगको सुरुवात हो,” अध्यक्ष विष्टले भन्नुभयो ।

उक्त केन्द्रले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै समुदायलाई फोहोर व्यवस्थापनबारे सचेत गराउने महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन राप्ती गाउँपालिकाले ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि सुरु गरेको छ । यसले वडास्तरमा प्रतिस्पर्धात्मक भावना जागृत गरी स्वच्छता कायम गर्न प्रेरित गरिरहेको सरसफाइ शाखा प्रमुख गीता चौधरीले बताउनुभयो ।

शनिबार क्याम्ब्रिज विश्वविद्यालय बेलायतका अनुसन्धानकर्ता प्राध्यापक क्युरि पार्क र स्टेफन इभान्ससहितको टोलीले केन्द्रको स्थलगत अवलोकन गर्नुभएको छ । टोलीले राप्ती गाउँपालिकाको यो प्रयासलाई उच्च प्रशंसा गर्दै यस्तो परियोजनाले विश्वभरका स्थानीय सरकारहरूका लागि अनुकरणीय अभ्यास प्रस्तुत गर्न सक्ने धारणा व्यक्त गरेको छ ।

यो केन्द्रले फोहोरलाई स्रोतमा रुपान्तरण गर्ने विधिहरूको परीक्षण र अनुसन्धानका लागि ठूलो सम्भावना बोकेको छ । स्थानीय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूका लागि यो अब एक विशेष गन्तव्य बन्न सक्ने विश्वास समेत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation