भालुबाङ १० चैत । दाङको राप्ती गाउँपालिकाले प्रदेश र संघ सरकारसँग माग गरिने विभिन्न योजनाहरूको प्राथमिकता निर्धारणका लागि आइतबार गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरूसँग छलफल सम्पन्न गरेको छ ।
गाउँपालिकाले आयोजना गरेको उक्त बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले गाउँपालिकाको समग्र विकासका लागि आवश्यक योजना र तिनका प्राथमिकताबारे आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न छलफलमा शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक पूर्वाधार, कृषि र पर्यटनको विकासका विशेष कार्यक्रमहरू ल्याउनु पर्ने विषयमा जोड दिइएको थियो ।
अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको दिगो विकासका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरी ठूला योजना माग गर्ने तयारी भइरहेको जानकारी दिँदै यस प्रक्रियामा सबै राजनीतिक दलहरूसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।
छलफलमा सहभागी दलका प्रतिनिधिहरूले योजना माग गर्ने क्रममा आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी जनताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर अघि बढ्न सुझाव दिएका थिए ।
त्यस्तै, प्रतिनिधिहरूले विशेष रूपमा शिक्षा, स्वास्थ्य, कृषकहरूको आर्थिक सशक्तीकरण, सिँचाइका नयाँ योजना, पर्यटन क्षेत्रको प्रवर्द्धन र विकट क्षेत्रहरूमा यातायात सुविधा विस्तारको आवश्यकतामा जोड दिएका छन् ।
छलफलको आधारमा राप्ती गाउँपालिकाले प्राथमिकताका योजनाहरूको सूची तयार गरी प्रदेश र संघ सरकारलाई पठाउने जनाएको छ ।











