शुक्रबार, चैत्र ६, २०८२

पत्रकार रजकको हत्या तथा सञ्चार गृह तोडफोड प्रति राप्ती प्रेस मञ्चद्धारा दाङकाे भालुवाङमा विरोध प्रदर्शन

दाङ १७ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड, आगजनी बिरुद्ध आइतवार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा बिरोध कार्यक्रम गरेको छ ।

गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले एक घरमा आगजनी गरेका थिए । राजावादीहरुको क्रूर व्यवहारको भिडियो खिच्नको लागि आफ्नो पत्रकारिताको धर्म निभाईरहेका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकलाई ज्युउँदै घरमा आगो लगाएर हत्या गरेको र सञ्चार गृहमा लगाईएको आगजनी तथा तोडफोडका बिरुद्ध मञ्चमा आवद्ध पत्रकारहरूले निधारमा कालोपट्टी बाँधेर बिरोध जनाएको हुन् ।

नागरिकको हकहित तथा देश निर्माणमा पत्रकारिताको भुमिका निर्वाह गरिरहेका पत्रकारको हत्या, सञ्चार गृहमा गरिएको तोडफोड आगजनीका बिरुद्ध मञ्चले विभिन्न नारा लगाएर विरोध सभा समेत गरेको थियो ।

बिरोध कार्यक्रममा बोल्ने पत्रकारहरुले एक कुशल पत्रकारिताको भुमिका निर्वाह गरिरहेका पत्रकारको आगोमा जलाई गरिएको हत्या तथा जनताको हकहित, राष्ट्र निर्माणमा पत्रकारिताको क्षेत्रबाट ठुलो भुमिका निर्वाह गरिरहेका सञ्चार गृहमा गरिएको तोडफोड तथा आगजनी निकै निन्दनीय रहेको बताएका छन् ।

राजावादीहरुले देखाएको त्यो क्रुर अमानवीय व्यवहार, श्रमजीवी पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोडको सिङ्गो मञ्चले घोर आपत्ती प्रकट गरेको छ । कलमजीवि पत्रकारलाई आफ्नो कर्म गरिरहेका बेला ज्युउँदै आगोमा जलाई हत्या गर्ने तथा सञ्चार गृहमा तोडफोड गर्ने सामन्त राजावादीहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्ने पत्रकारहरुले माग गरेका छन् ।

पत्रकारले अझै आफ्नो कलमको तागत देखाउने बेला आएको छ, यस्ता क्रुर व्यवहार तथा सामन्ती सोच भएकाहरुलाई कलमको सहायताले परास्त गर्नुपर्छ अनि मात्रै पत्रकारीताको धर्म पूरा हुने पत्रकारहरुको भनाई छ । सामन्ती सोच भएका राजावादी तथा घटनामा सङ्लग्नलाई सत्य, तथ्य छानबीन गरि कार्वाही नभएसम्म मञ्चले अझ कडा विरोधका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

विरोध सभालाई मञ्चका प्रमुख संरक्षक तथा प्रगतिशिल पत्रकार संघ नेपाल केन्द्रीय सचिवालय सदस्य महेश रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य आसा गाैतम, प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य विदुर एमसी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी र वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरुले विरोध मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरूलाई विभिन्न नारा लगाउँदै पत्रकार सुरेश रजकलाई सहिद घाेषणा गर्न र रजकका हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग समेत गरेका थिए । बिराेध प्रदर्शन कार्यक्रमकाे सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation