मङ्लबार, कार्तिक १९, २०८२

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

मसुरीया ३१ चैत । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्मकाे सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ७ स्थित भानपुर चोकमा आयोजना गरिएको थियो ।

गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कामकारवाहीबारे जानकारी गराउँदै सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत, विपद् व्यवस्थापन, न्यायिक सेवा, सुशासनलगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए।उनीहरुले उठाएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू र सम्बन्धित शाखा प्रमुखहरूले दिनु भएको थियो ।

साे कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष विष्टले निर्वाचनका बेला गरिएका अधिकांश प्रतिबद्धता पालिकाले पूरा गरेकाे उल्लेख गर्दै समृद्धि, विकास र सेवा प्रवाहमा आफूहरु निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर लागिरहेका छौँ । रचनात्मक सुझाव, सल्लाह र खबरदारी पनि निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ ।”

अध्यक्ष विष्टले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलता जस्ता क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताउनुभयो । साथै, उहाँले दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमको सहजीकरण पत्रकार चुमा आचार्य र दिबाकर पोख्रेलले गर्नुभएको थियो ।

राप्ती गाउँपालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation