सिसहनियाँ ३१ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. ७ छाेट्की सिसहनियाँमा केराबाट चिप्स बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ ।
“सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम आइतबार सम्पन्न गरिएको हो ।
समापन कार्यक्रम वडा अध्यक्ष सिताराम चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष चौधरीले सहभागी महिलाहरूले तालिममा प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्ने अपेक्षा व्यक्त गर्नुभयो। साथै, उहाँले उत्पादन हुने वस्तुहरूको बजारीकरणमा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तालिममा सहभागी सन्ध्या अधिकारीले आफूहरूले नयाँ सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्दै यसले आत्मनिर्भर बन्ने मार्ग खुलाएको बताउनुभयाे ।
वडा नं. ७ का १५ जना महिलाहरूको सहभागिता रहेको तालिमको प्रशिक्षकमा हरिचन्द्र सिँहले रहनु भएको थियो ।
समापन कार्यक्रममा वडा सदस्यहरू सावित्री चौधरी, उमा परियार, समाजसेवी यमबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो ।
तालिम पश्चात सहभागीहरूलाई चिप्स उत्पादनका लागि आवश्यक उपकरणसमेत सहयोग गरिएको उद्यम विकास शाखा प्रमुख बीनिता चौधरीले जानकारी दिनुभयो ।











