मसुरीया ३१ चैत । दाङको राप्ती गाउँपालिकामा सञ्चालित दुई महिने आरन संरक्षण तथा लोपोन्मुख खुकुरी निर्माण तालिम आइतबार सम्पन्न भएको छ ।
दलित सञ्जाल राप्तीको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिम परम्परागत आरन पेशाको संरक्षण र लोपोन्मुख खुकुरी निर्माण सीपको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले परम्परागत पेशाको महत्वमाथि प्रकाश पार्दै युवाहरूमा घट्दो चासो पुनः जागृत गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिम पश्चात सहभागीहरूलाई व्यावसायिक रूपमा अघि बढ्न प्रेरित गर्नुका साथै उत्पादन भएका सामग्रीको बजारीकरणमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य चम्फा भुसाल, दलित अगुवा इन्द्रजित गोतामे, प्रशिक्षार्थी नमराज विकलगायतका वक्ताहरूले आरन पेशाको संरक्षण र खुकुरी निर्माण सीपको जगेर्ना गर्न यस्ता तालिमहरूको निरन्तरताको आवश्यकता औँल्याउँदै गाउँपालिकाले देखाएको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रम सञ्जालका अध्यक्ष ठगेन्द्र परिवारको अध्यक्षता, कमला विकको स्वागत मन्तव्य र सचिव रामकृष्ण सुन्दासको सहजीकरणमा सम्पन्न भएको थियो ।
तालिममा नौ जना प्रशिक्षार्थी सहभागी थिए भने प्रशिक्षकको भूमिका विष्णु रसायलीले निर्वाह गर्नुभएको थियो ।











