शुक्रबार, चैत्र ६, २०८२

राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू

मसुरीया ९ वैशाख । दाङको राप्ती गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायित्वपूर्ण बनाउने उद्देश्यसहित सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली लागू गरेको छ ।

अबदेखि पालिकाका ९ वटै वडा कार्यालय, १३ वटा स्वास्थ्य संस्था र २८ वटा सामुदायिक विद्यालयमा विद्युतीय प्रणालीमार्फत उपस्थिति दर्ता गरिनेछ । यसले शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति व्यवस्थापनलाई सहज बनाउने र सेवाग्राहीले समयमै सेवा पाउने विश्वास गरिएको छ ।

उक्त प्रणालीको प्रयोग गाउँपालिका कार्यालय र केही मातहतका कार्यालयहरूमा गत वर्षदेखि सुरु भइसकेकोमा यो वर्षदेखि सबै निकायमा विस्तार गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार, विद्युतीय हाजिरी प्रणालीले सेवा प्रवाहमा पारदर्शिता र गुणस्तर सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । “हामी प्रविधिमैत्री र उत्तरदायी प्रशासन निर्माण गर्ने दिशामा अघि बढिरहेका छौं,” अध्यक्ष विष्टले भन्नुभयो, “यस प्रणालीको कार्यान्वयन हाम्रो सुशासनप्रतिको प्रतिबद्धता हो ।”

प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सो प्रणालीले कर्मचारीहरूको नियमित उपस्थिति सुनिश्चित गर्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो । “अब उपस्थिति दर्ता पारदर्शी र तथ्यांकमा आधारित हुनेछ,” उहाँले भन्नुभयो, “यसले सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनेछ ।”

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभागकाे सहकार्यमा उक्त प्रणाली जडान गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, प्रणालीको प्रभावकारी कार्यान्वयन, प्रयोग विधि र प्रक्रियाबारे जानकारी दिन मंगलबार वडा कार्यालय र स्वास्थ्य संस्थाका प्रमुखहरूलाई अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation