मसुरीया ६ बैशाख । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा मंगलबार वडा स्तरीय बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
खुरुरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत मसुरीया सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा सो प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा स्वास्थ्य संस्था तथा गाउँघर क्लिनिकमार्फत हरेक महिना बच्चाको नाप लिएको वा नलिएको, बच्चाको उमेर र उचाइअनुसारको तौलको अवस्था, पूर्ण खोप लगाइएको वा नलगाइएको जस्ता सूचकहरूका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट बालबालिका छनोट गरिएको थियो ।
प्रतियोगितामा शुस्मिता चौधरीकी छोरी श्रेया चौधरी प्रथम, पार्वता आचार्यका छोरा मनोहर आचार्य द्वितीय र मन कुमारी चौधरीका छोरा सुमिर चौधरी तृतीय भएका छन् ।
उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बालबालिकालाई क्रमशः ८ सय, ७ सय र ६ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।
स्वास्थ्य अधिकृत भारती सन्यासीको संयोजकत्वमा सचिव शेरबहादुर हमाल र ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’की फिल्ड सहायक नितु चाैधरी सदस्य रहेको मूल्याङ्कन समिति गठन गरी मूल्याङ्कन गरिएको थियो ।
राप्ती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष उमेश अधिकारीको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य चम्फा भुसाल, स्वास्थ्यकर्मी, बालबालिका र अभिभावकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण खुरुरिया आधारभूत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख सिनियर अहेब अधिकृत कमला न्यौपानेले गर्नुभएको थियो ।











