भालुवाङ ३२ असार । दाङको राप्ती गाउँपालिकामा बुधबार सम्पन्न ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’मा वडा नम्बर १ पहिलो र वडा नम्बर ८ दोस्रो भएका छन् ।
गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सञ्चालित सरसफाई अभियान अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने वडा नम्बर १ ले १ लाख रुपैयाँ बराबरको सरसफाई सामग्री, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान प्राप्त गर्ने वडा नम्बर ८ ले ५० हजार रुपैयाँ बराबरको सामग्री र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत वडा नम्बर १ देखि ९ सम्मका उत्कृष्ट टोल विकास संस्थाहरूलाई समेत छनोट गरि प्रत्येकलाई नगद २०/२० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो। साथै, सरसफाई कार्यमा योगदान पुर्याउने विभिन्न संघ–संस्थालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी, सरसफाई कार्यमा सक्रिय सरसफाईकर्मी तथा ट्याक्टर चालकहरूलाई नगद १ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
सार्वजनिक सरसफाईमा देखिएको जागरण र सहभागिता अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
मूल्यांकनका क्रममा खुला दिसामुक्त अवस्था, सार्वजनिक स्थानहरूको सरसफाई, विद्यालय तथा स्वास्थ्य संस्थामा साबुन र पानीको उपलब्धता, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, टोल तथा वडा सौन्दर्यकरण, मासिक सरसफाई बैठक र कार्यक्रमको नियमितता लगायत १२ वटा सूचकलाई आधार बनाइएको थियो ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सरसफाईलाई अब समुदायको संस्कारको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माणको साझा यात्रामा सबैको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो । अध्यक्ष विष्टले यस्ता अभियानलाई निरन्तरता दिँदै टोल विकास संस्थाहरूलाई थप सशक्त बनाइने जानकारी दिनुभयो ।
उपाध्यक्ष कमलापति चौधरीले प्रतियोगिताबाट वडाहरूबीच सकारात्मक प्रतिस्पर्धा सुरु भएको बताउँदै, सरसफाई स्वास्थ्य र वातावरणसँग जोडिएको संवेदनशील विषय भएकाले दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सरसफाई अभियानलाई प्रभावकारी बनाउन समुदाय र स्थानीय सरकारबीचको सहकार्य आवश्यक रहेको बताउँदै नियमित सरसफाईमा सबैको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्षहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, टोल विकास संस्था,सञ्चारकर्मी, पालिकाका कर्मचारी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’ सरसफाईलाई दिगो अभ्यास बनाउँदै लैजान उपयोगी माध्यम भएको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रमको सञ्चालन आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गर्नुभएको थियो ।
राप्ती गाउँपालिकाले करिब एक वर्षअघि वडा नम्बर २ को पुण्यपुरमा सरसफाई केन्द्र स्थापना गरेर प्लाष्टिकजन्य फोहोरबाट इन्टरलक टायल उत्पादन गर्दै आएको छ ।











