राप्ती गाउँपालिका कर्मचारी परिवार कल्याण कोषबाट मृगौला पीडितलाई आर्थिक सहयोग

मसुरिया ९ पुस । दाङको राप्ती गाउँपालिकाका कर्मचारीहरूले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषमार्फत मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

कोभिड–१९ महामारीको समयमा गाउँपालिकाका कर्मचारीहरूले आपसी सहयोगको उद्देश्यले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषबाट राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी ५१ वर्षीय मृगौला पीडित लिलाधर परियारलाई ६ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरिएको हो ।

आर्थिक अभावका कारण थप उपचारमा समस्या भएपछि पीडित परिवारले सहयोगको अपिल गरेपछि कर्मचारी परिवार कल्याण कोषमार्फत उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

पालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, विपद् व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराई तथा सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङको उपस्थितिमा पीडित परियारकी छोरी सुनिता नेपालीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

राप्ती गाउँपालिकाका कर्मचारीहरूले सञ्चालन गर्दै आएको कर्मचारी परिवार कल्याण कोषबाट यसअघि पनि विपन्न तथा आर्थिक रूपमा कमजोर भई विभिन्न समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation