बिहिबार, चैत्र १२, २०८२

सेवाग्राहीमैत्री सेवा प्रवाहतर्फ लमही: राजश्व संकलनमा ‘सूत्र’ प्रणाली लागु

देउखुरी । लमही नगरपालिकाले राजश्व संकलन प्रक्रियालाई थप सहज, सरल र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित ‘सूत्र’ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।

नगरपालिकाले राजश्व शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न विशेष तालिम सञ्चालन गर्दै आधुनिक प्रविधिमा आधारित सेवा प्रणाली लागू गर्ने पहल अघि बढाएको हो ।

“लमही नगर निर्माण, महाअभियान” अन्तर्गत राजश्व संकलन कार्यलाई व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने लक्ष्यसहित कर्मचारीहरूलाई ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)’ सम्बन्धी तालिम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रणालीमार्फत सेवा प्रवाह गर्दा राजश्व संकलन प्रक्रिया अझ प्रभावकारी र पारदर्शी बन्नेछ ।

नगरपालिकाले नगद अभावका कारण सेवाग्राहीले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै क्यूआर कोडमार्फत भुक्तानी गर्ने सुविधा समेत उपलब्ध गराउने तयारी गरेको छ । यसले सेवाग्राहीलाई छिटो, सहज र सुरक्षित रूपमा कर तिर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख जोगराज चौधरीले नगरपालिकालाई सेवाग्राहीको साझा घरका रूपमा परिभाषित गर्दै सेवा प्रवाहलाई चुस्त, छरितो र जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हाम्रो सेवा सेवाग्राहीको सुविधाअनुसार हुनुपर्छ, त्यसैले राजश्व संकलनलाई पनि सहज र सरल बनाउने दिशामा अघि बढेका छौं,” उहाँले भन्नुभयो ।

सूत्र प्रणालीको प्रयोगले कर संकलन, अभिलेख व्यवस्थापन, प्रतिवेदन तयारी तथा आर्थिक पारदर्शिता कायम गर्न महत्वपूर्ण योगदान पुग्ने प्रशिक्षक तथा शान्तीनगर गाउँपालिकाका सूचना प्रविधि अधिकृत रविन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रणालीले स्थानीय तहको राजश्व व्यवस्थापनलाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउनेछ ।

कार्यक्रममार्फत सूत्र राजश्व मोड्युलको प्रयोग, यसको प्रभावकारिता, देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे आगामी दिनमा समेत निरन्तर छलफल गरिने जनाइएको छ । यसले कार्यालयको सेवा प्रवाहलाई अझ छिटो, सरल र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य सूचना प्रविधि अधिकृत नरेन्द्र कुमार गुप्ताले व्यक्त गर्नुभएको थियो भने सहजीकरण राजश्व शाखा प्रमुख अम्बिका शर्माले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation