बुधबार, कार्तिक २०, २०८२

एन्फा पदाधिकारी कतारमा मस्त, नेपाली फुटबल अन्योलमा

काठमाडौं नेपालमा लिग फुटबल अन्योलमा रहेको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी भने कतारमा जारी विश्वकप फुटबलमा रमाइरहेका छन् ।

‘चेञ्ज एन्फा’ को नारा बोकेर नेतृत्वमा आएको पंकज नेम्वाङ समूहको एन्फाले तत्काल लिग फुटबल आयोजना गर्ने सम्भावना न्यून देखिन्छ । तर पदाधिकारी दिनहुँ विश्वकप फुटबलको मनोरञ्जन लिन कतार उडिरहेका छन्।

काठमाडौंमा भने बजेट अभावको कारण देखाउँदै एन्फाले राष्ट्रिय खेलकुद परिषद्सँग भर्खरै आएर ६ करोड रुपैयाँ माग गरेको छ ।

अध्यक्ष नेम्बाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले बुधबार परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलाई भेटेर लिगका लागि आवश्यक बजेट छुट्टयाइदिन आग्रह गरेका छन् ।

एन्फाले बुझाएको पत्रमा भनिएको छ, ‘ए, बी र सी डिभिजन लिग सञ्चालन गर्न १८ करोड बढी खर्च हुन्छ । त्यसैले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपमार्फत ६ करोड रुपैयाँ निकासीका लागि आग्रह गरेका छौं ।’

एन्फाले माग गरेको पत्रमा ए डिभिजनका लागि ३ करोड, बी डिभिजनका लागि २ र सी डिभिजनका लागि १ करोड रुपैयाँ भनिएको छ ।

नेम्बाङ अध्यक्ष निर्वाचित भएपछि लिग फुटबल तोकिएको समयभन्दा दुई पल्ट सरिसकेको छ । फुटबलको गतिवधि नहुँदा खेलाडी पलायन पनि उत्तिकै भइरहेको छ ।

एक दिनअघि मात्र राष्ट्रिय खेलाडीहरूले लिग सञ्चालन गर्न आग्रह गर्दै एन्फालाई पत्र बुझाएका थिए । खेलाडीहरू तातिएपछि एन्फाले आफू सक्रिय भएको देखाए पनि लिग कहिलेदेखि सुरु हुने कुनै जानकारी दिएको छैन ।

एन्फाका एक पदाधिकारी भन्छन्, ‘विगतको खर्च पनि फर्स्योट गर्नुपर्ने छ । हामी बजेट जुटाउने तयारीमा छौं । सम्भव भए छिट्टै लिग आयोजना गर्छौं ।’

एन्फाले गत वर्ष सम्पन्न लिगको तयारी वापतको खर्च अहिलेसम्म क्लबलाई फर्स्योट गरेको छैन । एन्फाले क्लबहरूलाई एक करोडको हाराहारीमा बक्यौता रकम तिर्नुपर्ने अवस्था छ । एन्फा स्रोतका अनुसार बक्यौता रकम तिर्नका लागि तयारी सुरु हुन लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation