शनिबार, चैत्र ७, २०८२

देउखुरीकाे लालमटिया खानेपानी फेडवासन द्वारा सुरक्षित भएको घोषणा

लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीले सुरक्षित खानेपानी समुदाय घोषणा गरेको छ । दाङ जिल्ला राप्ती गाउँपालिको वडा नम्बर २ मा रहेको लालमटिया खानेपानीले बिहीबार एक कार्यक्रम आयोजना गरी सुरक्षित खानेपानि युक्त सामुदाय घोषणा भएको हो ।                                                             

विभिन्न तीन चरणमा खानेपानीको शुद्धता मापन गरी यहाँका ६६० घरधुरी परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणित भएपछि सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो ।                                                                             

लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष गुरुप्रसाद ज्ञवालीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा २ का वडाध्यक्ष पहलवान चौधरी (अनुप)को प्रमुख आथित्यतामा भएकाे कार्यक्रममा  प्रमुख अतिथी वडाध्यक्ष चाैधरीले आयोजनाका स्रोत, भण्डारण, वितरण प्रणाली, धारा र घरायसी भण्डारण सबैको गुणस्तर मापनसमेत गरेर सुरक्षित खानेपानि युक्त समुदाय घोषणा गरेका हुन् ।       

सुरक्षित खानेपानि युक्त समुदाय घोषणा कार्यक्रम गर्दै गर्दा भोली पनि यो खानेपानी सुरक्षित हुनुपर्छ र राखी रहन सम्पूर्ण उपभोक्ता, खानेपानी समिती र स्थानिय सरकार सम्पुर्णको दायित्व रहने बताए । युनिसेफको आर्थिक र फेडवासनको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो ।                                             

कार्यक्रममा फेडवासनका केन्द्रिय अध्यक्ष गौतम बुद्ध लामा, फेडवासनका जिल्ला अध्यक्ष ध्रुब ठकुरी, राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण रावत, राप्ती गाउँपालिका खानेपानी तथा सरसफाई शाखा प्रमुख गिता चौधरी,  भालुबाङ खानेपानि तथा सरसफाई समितीका अध्यक्ष हस्त बहादुर गुरुङ र पशु बृदाश्रम तथा गिद्ध संरक्षण केन्द्रका संयोजक याम बहादुर रोका लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।                                                                                                     

समितीकी सहयोगी अञ्जना कुमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन लालमटिया खानेपानीका सचिव शोभाकान्त न्यौपानेले गरेका थिए ।         

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation