बिहिबार, कार्तिक २१, २०८२

लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनद्वारा शपथ ग्रहण

लुम्बिनी प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।                   

प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।                                                 

स्थायी राजधानी दाङको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा तयार भएको प्रदेशसभा भवनमा उनीहरुले शपथ ग्रहण गरेका हुन् । प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।                                       

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकका लागि प्रदेश सरकारको १० करोड बढी लागतमा देउखुरीमा बनेको प्रदेशसभा भवनको अधिकांश काम सकिएको छ ।                                                                 

अहिले सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम तयारीको अवस्थामा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथ ग्रहण भएको छ भने यही भवनमा पहिलो बैठक हुनेछ ।’                                                                   

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ ।                                                           

माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।                                                                           

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation