मदिरा र सुर्तीजन्य विज्ञापन नछापः प्रेस काउन्सिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।

बिहिबार एक विज्ञप्ति मार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुने खालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य पदार्थ लगायतक मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसविपरीत विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यस किसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण सञ्चार माध्यमलाई यसै विज्ञप्ति मार्फत् आह्वान गर्दछ ।’

काउन्सिलले पछिल्लो समय प्रकाशित सामग्रीलाई लिएर प्रेस स्वतन्त्रताको हनन हुने किसिमबाट गालीगलौज गर्ने, धम्की दिने कार्य हुने गरेको प्रति काउन्सिलको ध्यानाकर्षण भएको समेत जनाएको छ ।

त्यस्तै कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्रतर्फ केन्द्रित सञ्चार माध्यमबाट पर्याप्त आधार/कारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिइ एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासाहरू आउन थालेकाले त्यस्तो प्रवृत्ति रोक्न समेत भनिएको छ । ‘यसतर्फ पनि पत्रकारिताको पेसागत आचारण कायम राख्न र गैरपेसागत क्रियाकलाप नगर्न/नगराउन तर्फ सम्बन्धित पक्षलाई सचेत गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation