गढवा । गढवा गाउँपालिकाद्वारा पालिका भरीका सहिद परिवारलाई एक कार्यक्रमको बिच शनिबार सम्मान गरेको छ ।
गढवा गाउँपालिकामा रहेका सरकारले सहिद घोषणा गरेका सहिद परिवारलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । गढवा गाउँपालिकाको विभिन्न वडाहरुमा गरी ११ जना सहिद परिवार रहेका छन् । ११जना सहिद परिवारहरु लाई बोलाई गढवा गाउँपालिकाको वडा नम्बर ३ मा सम्मान गरिएको गढवा गाउँपालिकाले जनाएको छ ।

मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि जनयुद्ध र लोकतान्त्रिक आन्दोलनमा होम्मिएर राष्ट्र र राष्ट्रियता र समाजको रुपान्तरणका निम्ति आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने विर शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवारलाई सम्मान गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । अहिले सम्मको प्राप्त उपलब्धि भनेकै शहिद को बलिदान बाट प्राप्त उपलब्धि भएको बताउंदै अध्यक्ष पोख्रेलले सहिद परिवार संग पालिका हरबखत तयार रहेको बताउनु भयो ।
सहिद सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले पालिकाले शहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम आफु उपस्थित हुन पाउँदा गर्ब महसुस् गरेको बताउदै शहिदहरुले समावेशी प्रणालीको लागि पनि आफ्नो ज्यान आहुति गरेको र आफु पनि समावेशी प्रणाली बाटै लोक सेवामा नाम निकाल्न सफल भएको बताउदै बिर सहिदहरुको नाम इतिहाँसको पानामा सुनौला अक्षरले लेखिसकेको बताउनु भयो। देशको आमुल परिवर्तनमा शहिदको रगत खेर नगएको भन्दै जति सम्मान गरे पनि कम हुने बताउनु भयो ।

त्यसैगरी सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भक्तु चौधरीले देश र जनताको लागि अमर सहिदहरुले आफ्नो ज्यान बलिदान गरेको बताउनु भयो । बिर सहिदहरुले आफ्नो ज्यानको बलिदानी नदिएको भए आज देश यो मोडमा नहुने बताउंदै सहिद परिवारले चिन्ता नलिइ गर्ब गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहिद गिरी प्रसाद घर्तिका आमा मनिदेवी घर्ती मगर,सहिद निर्मल रावतका बुवा बिष्णु बहादुर रावत क्षेत्री, सहिद नन्द बहादुर केसीकी आमा खडक कुमारी खत्री, सहिद गिता घर्तिकी आमा गौमती घर्ति मगर, सहिद बलदेव चौधरीका बुवा लक्षमा चौधरी, सहिद गिरिराज पोख्रेलका आमा इश्वरा देवी पोख्रेल, सहिद माया चौधरीको आमा दसनी कुमारी चौधरी, सहिद यम बहादुर डालाको श्रीमती चमिसरा डालामगर, सहिद आलोक गिरिको आमा तुलसा गिरि लाई सम्मान गरिएको छ ।

कार्यक्रममा ३ नम्बर वडाका वडा सदस्य आशाराम चौधरी, बिमल चौधरी, संघीय संसद नारायणी शर्माका स्वकीय सचिव तिलक घिमिरे लगाएतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको प्रमुख आतिथ्यमा भएको थियो ।
गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा नम्बर ३ का वडा सचिव शिव कुमार चौधरीले गर्नु भएको थियो ।












