बिहिबार, माघ २३, २०८२

मासु बढ्ने भन्दै पाठालाई संगिनी सुई

बाख्राका पाठाहरूको तौल बढ्ने भन्दै गुल्मीमा महिलामा प्रयोग गरिने गर्भनिरोधक संगिनी सुई लगाउने गरेको पाइएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिकाले सोमबार सूचना नै जारी गरी कतिपय वडामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले नियमविपरीत बाख्राका पाठाहरूलाई महिलालाई लगाउने गर्भनिरोधक तीन महिने सुइ लगाउने गरेको पाइएकोले त्यस्तो कार्य रोक्न सचेत गराएको छ ।

‘धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउँ र वडा नं. ७ वाग्लामा केही पाठाहरूमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियम विपरीत संगिनी सुई लगाउने गरेको भन्ने जानकारीमा आएकाले उक्त कार्य यथाशीघ्र बन्द गराउन अनुरोध छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जारी गरेको सूचनामा उल्लेख छ ।

बाख्राका पाठामा लगाइएको संगिनी सुइमा हुने हर्मोनको दिर्घकालिन असर मानव स्वास्थ्यमा पर्न जाने भएकोले यस्तो कार्य यथासिघ्र बन्द गराउन र आगामी दिनमा यस्तो कार्य गर्ने गराउने दुबैलाई कानुन बमोजिम दण्ड सजाय गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले यस्तो कार्य कसले गरेको र गराएको भन्ने एकिन नभए पनि जनगुनासो आएकोले किसान र पशु प्राविधिक दुबैलाई सचेत बनाउन सूचना जारी गरिएको बताए ।

‘यस्तो कार्य कसले गरेको हो भन्ने अझै पुष्टि भएको छैन, पाठाको तौल बढ्ने भ्रममा परी किसानहरूकै सहमतिमा तीन महिने सुई लगाउने गरेको भन्ने गुनासो आएको छ,’ पन्थीले भने ।

पन्थीले यसबारेमा अनुसन्धान भइरहेको र कसले गरेको हो भन्ने पुष्टि भएपछि कारबाही गरिने बताए ।

‘संगिनी सुई लगाएपछि पाठाहरू शान्त स्वभावका हुने र तौल बढ्ने भ्रमका कारण यस्तो कार्य हुने गरेको जनगुनासो आएको छ,’ उनले भने ।

३५ दिने तालिम लिएर ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता बनेकाहरूले बिरामी भएका पशुको सामान्य उपचार गर्न अनुमति पाउँछन् । उनीहरूबाटै यस्तो कार्य भएको हुनसक्ने भएकाले सचेत बन्न आग्रह गरिएको पन्थीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation