काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले, भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगो भैसीको प्रजनन क्षमता र नस्ल सुधारमा सहयोग हुने प्रष्ट पारेको छ ।
सामाजिक सञ्जालमा अत्यधिक ट्रोल भएपछि मन्त्रालयले, नेपालले सन् २०१८ मै गरेको आग्रहका आधारमा भारतले नेपाललाई मुर्रा राँगो नि:शुल्क उपलब्ध गराएको र यसबाट नेपालले वार्षिक कम्तिमा एक लाख भैंसीमा गर्भधारण गर्ने लक्ष्य लिइएको प्रष्ट पारेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा १५ वटा मुर्रा राँगोबाट ३ वर्षपछि वार्षिक डेढ लाख डोज बीर्य प्राप्त गर्न सकिने र यसले दूध उत्पादनमा उल्लेख्य सुधार हुने उल्लेख छ ।
मन्त्रालयका अनुसार १५ वटा मुर्रा राँगोबाट ३ वर्षपछि वार्षिक डेढ लाख डोज बीर्य प्राप्त गर्न सकिने छ । यसले दूध उत्पादनमा उल्लेख्य सुधार हुने मन्त्रालयले जनाएको छ ।
नेपालले सन् २०१८ मै भारतलाई ३० वटा मुर्रा राँगो उपलब्ध गराउन अनुरोध गरेको थियो ।
नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा उक्त अनुरोध भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको औपचारिक भ्रमणका क्रममा भारत सरकार त्यसका लागि तयार भएको हो ।
प्राविधिक पक्ष टुंगिएपश्चात भारतीय पक्षबाटा नेपालको भन्सारसम्म ती उच्च प्रजनन् मानका मुर्रा राँगा उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।
यी राँगा पशु सेवा विभाग मातहात राष्ट्रिय पशु प्रजनन् कार्यलय पोखरा, नेपालगञ्ज र लाहानमा व्यवस्थापन गरिने पनि मन्त्रालयको सूचनामा उल्लेख छ ।











