बिहिबार, माघ २३, २०८२

बढ्दो शहरीकरणलाई सुन्दर र सडकहरुलाई वातावरणमैत्री बनाउने उद्देश्यले देउखुरीमा फुलको बिरुवा रोपियो

देउखुरी, २० असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट श्रीनारायण चोक देखि देविकोट हुँदै बंगलाचुली जोड्ने गणतन्त्र मार्गको दुवै तर्फ बुधबार विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ ।

राप्ती गाउँपालिकाकाे आयोजनामा तथा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय लमहीकाे सहयोगमा राजमार्गलाई पर्यापर्यटन संग जोड्न र सौन्दर्यकरण गर्ने उद्देश्यले उक्त मार्गको दुबै तर्फ बिरुवा रोपिएको हो ।

लुम्बिनी प्रदेशको राजधानी स्थल समेत रहेको पालिकाकाे वडा नम्बर ४ मौरीघाट श्रीनारायण चोक देखि देविकोट हुँदै बंगलाचुली जोड्ने उक्त मार्ग अन्तर्गत सुन्दरपुर देखि करिब डेढ किलोमिटर उत्तर तर्फ मार्गको दुवै तर्फ गुल्मोहर, जखरखण्ड र कल्की लगायतका विभिन्न प्रजातिका ४ सय ४० वटा फूलको बिरुवा रोपिएको वडा नम्बर ४ का वडा अध्यक्ष तथा गणतन्त्र मार्ग सौन्दर्यकरण उपभोक्ता समूहका अध्यक्ष बिर बहादुर चौधरीले जानकारी दिनु भयो ।

उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारको १६ लाख ७२ हजारको लागत स्टिमेटमा ४ सय ४० फूलको बिरुवा खरिद, सोही परिमाणमा ट्रीगार्ड निर्माण र १ लाख ९६ हजार ६ सय १२ रुपैयाँ २९ पैसाको जनश्रमदानबाट उक्त बिरुवाहरु रोपिएको हाे ।

बढ्दो शहरीकरणलाई थप सुन्दर बनाउन र सडकहरुलाई वातावरणमैत्री बनाउने उदेश्यले सडक सौन्दर्यकरण अभियान अन्तर्गगत बिरुवा रोपिएको लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धब बहादुर घिमिरेले बताउनु भयो ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बिरुवा राेप्नु भन्दा पनि रोपिएका बिरुवाहरुकाे रेखदेख र संरक्षण गर्नु महत्त्वपूर्ण भएको बताउँदै राेपिएका सबै बिरुवाहरुकाे संरक्षण र रेखदेखको गर्ने जिम्मा स्थानीय सरकारले लिने बताउनु भयो ।

उहाँले भन्नू भयो -“मरेको बिरुवाको ठाउँमा आर्को बिरुवा रोप्ने, हुर्काउने र बिरुवा ठुलो नहुन्जेल सम्म रेखदेख गर्ने सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिन्छ ।”

डिभिजन वन कार्यालय लमहीका प्रमुख राजु क्षेत्रीले विकासका पूर्वाधारहरु निर्माण गर्दा वन क्षेत्र पनि नासिदै गएकाे बताउँदै हरेक विकास पूर्वाधारहरु निर्माण सँगसँगै वृक्षारोपण गर्नु पर्ने कुरामा जाेड दिनु भयो ।

बिरुवा रोपण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धब बहादुर घिमिरे, वन डिभिजन कार्यालय लमहीका प्रमुख राजु क्षेत्री, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली, वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, वडा सदस्यहरु विष्णु पाेख्रेल, राेशन चाैधरी, बालिका विक, समिता चाैधरी, सशस्त्र प्रहरी वल नेपाल ज्वालामाई गण २९ नम्बर हेट क्वाटरका सशस्त्र प्रहरी जवानहरु, ईलाका प्रहरी कार्यालय भालुवाङ, प्रहरी चाैकी मसुरियाका प्रहरीहरु, ऐरावती आर्दश बहुमुखी क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरु, पत्रकारहरु लगायत दुई सय बढी स्थानिय बासीहरुकाे सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation