काठमाडौं ३१ असार । आइतबारको प्रतिनिधि सभाको बैठकले मिटरब्याज सम्बन्धी विधेयक पारित गरेको छ । आजको प्रतिनिधि सभाको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो । यो विधेयक पारित भएसँगै अनुचित लेनदेनसँग सम्बन्धित कार्यमा कसुर लाग्नेछ ।
मिटरब्याज पीडतले आन्दोलन चर्काएपछि आन्दोलनरत पक्षसँगको सहमति अनुसार सरकारले यसअघि गत वैशाख २० गते पीडितलाई न्याय दिने भन्दै अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न असार ५ गते दर्ता भएको विधेयक असार १७ गते प्रतिनिधि सभामा पेस भएको थियो । असार २० गतेको कार्यसूचीमा विधेयक प्रस्तुत हुने उल्लेख भए पनि बैठक अवरुद्ध हुँदा अध्यादेशको कानुनी प्रावधान अनुसार विधेयक निष्क्रिय भएको थियो । शून्यतामा गएको विधेयक आइतबार पुन प्रतिनिधिसभामा प्रस्तुत भएर पारित भएको हो । प्रतिनिधि सभाबाट पारित विधेयक अब सन्देशसहित राष्ट्रिय सभामा पठाइने छ । राष्ट्रिय सभाका अध्यक्षले प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा सुनाएर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नुभएपछि विधेयक कार्यान्वयनमा आउने छ ।
यो विधेयक पारित भएसँगै मिटरब्याज सम्बन्धी साहुलाई कानुनी कारबाही गर्ने बाटो खुलेको छ ।











