बिहिबार, माघ २३, २०८२

राप्तिमा पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सेवा प्रदान गर्न स्वास्थ्य क्लिनिक संचालन

देउखुरी २२ श्रावण । दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य गाउँघर क्लिनिक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढमा ८५ वर्षीय लिले गिरीकाे रक्तचाप जाँच गरी क्लिनिककाे उद्घाटन गरे ।

“हामी बिरामी नभइकन स्वास्थ्य संस्था नै जादैनाै”, उद्घाटन कार्यक्रममा बाेल्दै विष्टले भने, -“जब बिरामी पर्छाै त्यतिबेला राेग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।”

अध्यक्ष विष्टले स्वास्थ्य संस्थाबाट टाढा रहेका नागरिकहरुलाई स्वास्थ्य सेवाकाे पहुँच पुर्याउनकाे लागि क्लिनिक सञ्चालन गरिएको बताउदै नियमितरूपमा स्वास्थ्य परिक्षण गराउन कार्यक्रमका सहभागीहरुलाई आग्रह गरे ।

हाल पालिका भरि १८ वटा गाउँघर क्लिनिक स्थापना भई सञ्चालन आएको छ। क्लिनिक प्रत्येक महिनाकाे २१ गते सञ्चालन हुने जनाइएको छ ।

साे गाउँघर क्लिनिकमा रक्तचाप मापन, गर्भवती, सुत्केरी जाँच सेवा, दुई वर्ष सम्मका बालबच्चाहरुकाे ताैल, परिवार नियाेजन, प्राथमिक उपचार सेवा प्रदान गरिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिए ।

पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले समयमै राेगकाे पहिचान भयो भने बेलैमा बिरामीको उपचार हुनुकाे साथै पैसा र समय दुवैको बचत हुने बताइन् ।

हाल पालिका मातहत ४ स्वास्थ्य इकाई, ४ आधारभूत स्वास्थ्य केन्द्र बाट नियमितरुपमा स्वास्थ्य चेकजाँच भइरहेकाे छ भने भालुवाङ्ग र सिसहनियाँमा रहेको २ वटा स्वास्थ्य चाैकी मार्फत २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान भइरहेकाे छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, स्वास्थ्यकर्मी पदम पाैडेल लगायतका वक्ताहरुले गाउँघर क्लिनिककाे आवश्यकता र त्यसबाट प्रदान गरिने सेवाहरुकाे बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, टाेल विकास संस्थाका अध्यक्ष, महिला स्वयंसेवकका, आमा समूहका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयवासीहरुकाे उल्लेख्य सहभागीता रहेकाे थियाे भने स्वास्थ्यकर्मी चेतन पाेख्रेल र जानका पाैडेले १०० भन्दा बढी कार्यक्रममा सहभागी व्यक्तिहरुकाे रक्तचाप जाँच गरेका थिए ।

अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली र स्वास्थ्य शाखा प्रमुख नारायण रावतले वडा नम्बर ४ मा रहेको स्वास्थ्य इकाई र वडा नम्बर ८ मा रहेको गाउँघर क्लिनिककाे स्थलगत अवलोकन समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation