बिहिबार, माघ २३, २०८२

लैङ्गिकहिंसाको अन्त्य घरपरिवारबाटै शुरु गर्नु पर्छ : प्रदेश अध्यक्ष भण्डारी

दाङ २४ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले लैङ्गिकहिंसाको अन्त्य घर परिवारबाटै शुरु गर्नु पर्ने बताउनु भएको छ ।

बनको दिगो व्यवस्थापन, सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार, लैङ्गिकहिंसा अन्त्यको सुनिश्चतता, महिला र बालबालिकामा लगानीको एक्यबद्धता भन्ने मुल नाराका साथ शनिबार पाल्पाको तानसेनमा आयोजित लैङ्गिकहिंसा बिरुद्धको अन्तरक्रियामा बोल्दै भण्डारीले यस्तो बताउनु भएको हो ।

उहाँले हरेकको घर परिवारमा जब सम्म लैङ्गिकहिंसाको अन्त्य हुँदैन तब सम्म समाज त के देशमा समेत लैङ्गिकहिंसाको अन्त्य नहुने तर्क गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै अध्यक्ष भण्डारीले लैङ्गिकहिंसाको अन्त्यका लागि सबै भन्दा पहिले घरपरिवार सचेत र जिम्मेवार बन्न सक्नुपर्ने बताउनुभयो । उहाँले घर परिवारबाट लैङ्गिकहिंसाको अन्त्य गर्न राज्यले सचेतना फैलाउने देखि महिला र पुरुषलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने समेत बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला समिती पाल्पाले जिल्लाको सदरमुकाम तानसेनमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै अध्यक्ष भण्डारीले अहिले पछिल्लो समय महिला भन्दा पुरुषहरु बढी हिंसामा पर्न थालेकोमा चिन्ता समेत व्यक्त गर्नु भयो । उहाँले अहिले हाम्रो समाज छाडा र अराजकता तर्फ जाँदैछ, जसको फलस्वरुप पुरुषहरु समेत हिंसामा पर्न थाल्नु भएको छ, यसले समाजलाई नै दुर्गन्धित बनाएको छ, भण्डारीले भन्नुभयो । हिंसा अन्त्यका लागि सबै पक्ष एकदमै जिम्मेवार भएर लाग्न सुझाब समेत दिनुभयो ।

वन महासंघ जिल्ला समिती पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता एवम् वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिकहिंसा अन्त्यका लागि राज्य र नागरिक सहित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका थिए । उनीहरुले सबै पक्षको हातेमालोबाट मात्र लैङ्गिकहिंसा अन्त्य हुने समेत बताएका थिए ।

वन महासंघ जिल्ला उपाध्यक्ष हरि पराजुलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वन महासंघकी लुम्बिनी प्रदेश सदस्य नानुमाया गन्धर्व, वन महासंघका निबर्तमान जिल्ला अध्यक्ष निरन्जन भुसाल, जिल्ला सदस्य टीकाराम पोखरेल, वन महासंघ तानसेन नगर अध्यक्ष भवानी गौतम, बग्नासकाली स्थानीय वन महासंघ अध्यक्ष कपिल ढुङ्गाना, रिब्दिकोट स्थानीय वन महासंघ अध्यक्ष झपिन्द्र गैरे, पुर्बखोला स्थानीय वन महासंघ अध्यक्ष सम्झना न्यौपाने, निस्दी स्थानीय वन महासंघ अध्यक्ष बिष्णुदेब सोमै, रम्भा स्थानीय वन महासंघ अध्यक्ष भिमबहदुर सारु र वन महासंघ तानसेन नगरकी सचिव सुनिता शर्मा लगायतका बक्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वन महासंघ पाल्पाकी सचिब लक्ष्मी ज्ञवालीले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation