बिहिबार, माघ २३, २०८२

दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र

देउखुरी २ पुस । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र पारिएको छ ।

यसै क्रममा साेमबार पालिकाको वडा नम्बर ५ काे भुल्केमा नाप नक्साको काम शुरुवात गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप नक्सा गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि कार्यक्रमको शुरुवात गर्नु भएको हाे ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जग्गा नाप नक्सा कार्य पछि वर्षाै देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने बताउनुभयो ।

निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष विष्टले जग्गा नाप नक्सा गरि तत्काल लालपुर्जा वितरणका लागि पहल गर्ने समेत बताउनुभयो ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले सबैकाे साथ र सहयोग भए मात्रै समयमै नाप नक्सा गर्ने कार्य सम्पन्न हुने बताउदै सानातिना विवाद भए वडामा गठित विवाद समाधान समिति मार्फत विवाद सुल्झाउन समेत सुझाव दिनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले पालिकाको नौ वटै वडामा जग्गाको निस्सा वितरण कार्य भइ सकेको बताउदै निस्सा छुट भएका व्यक्तिहरुका लागि राष्ट्रिय भूमि आयोग दाङ सँग समन्वय गरेर अन्तिम पटक पुनः निवेदन संकलन गर्नका लागि सूचना प्रकाशन गरिने बताउनुभयो ।

हाल पालिकाको वडा नम्बर १ र ८ मा जग्गाको नाप नक्सा गर्ने काम सम्पन्न भई सकेको छ भने वडा नम्बर २, ३, ४ र ९ मा अन्तिम चरणमा पुगेको गाउँपालिकाका भूमि सेवा शाखाका प्रमुख बालचन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर ५ मा आज साेमबार देखि नाप नक्साकाे काम शुरु भएको छ भने बाँकी वडा ६ र ७ मा पनि लगत्तै शुरु गरिने शाखाले बताएको छ ।

गाउँपालिका भरि ४ हजार ५ सय ६४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन ।

जसमध्ये ३ हजार ७ सय ७५ अब्यबस्थित बसोबासी, ५ सय ६९ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित रहेको शाखा प्रमुख गुरुङ्गले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation