शुक्रबार, चैत्र १३, २०८२

शिवसवरीधाममा महाशिवरात्री मेला सम्पन्न, नृत्य प्रतियोगितामा लिटिल एन्जल्स प्रथम

सिसहनियाँ २६ फागुन ।  महाशिवरात्री पर्वको अवसरमा दाङ देउखुरीको राप्ती गाउँपालिका ५ पहरुवामा सञ्चालित महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम सम्पन्न शनिबार भएको छ ।

धार्मिक स्थलको प्रचारप्रसार तथा हिन्दुधर्मको संरक्षण र विभिन्न कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको बहुचर्चित एक मात्र धार्मिक स्थल शिवसवरी धाम धार्मिक केन्द्रको आयोजनामा फागुन २४ देखि २६ गते सम्म सञ्चालित मेला शनिबार सम्पन्न भएको हो ।

साँस्कृतिक कार्यक्रम अन्तरगत नृत्य प्रतियोगितामा लिटिल एन्जल्स स्कुल भालुवाङ प्रथम, शान्ति नमुना युवा क्लव माैरीघाट द्वितीय, राष्ट्रिय थारू कलाकार मञ्च दाङ तृतीय र पब्लिक एजुकेसन एकेडेमी लालमटियाले सान्त्वना स्थान प्राप्त गरेका थिए । बिजेताहरूलाई क्रमश नगद ५, ४, ३ र २ हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मेला मुल आयोजक समितिका अध्यक्ष मिश्रुलाल चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा धामकी प्रमुख संरक्षण गुरु शिवलक्ष्मी चाैधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले धर्मको संरक्षण तथा कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको महत्त्वपूर्ण भुमिका रहने बताएका थिए । सो अवसरमा राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य राजेन्द्र पुजाली, समाजसेवी तथा बुद्धिजीवी माधव आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूले दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रचारप्रसार समितिका संयोजक सन्तोष कुमार गुप्ताले गरेका थिए ।

धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, अग्लो त्रिशूल, दोलाई खोलामा डुंगा शयर, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation