शनिबार, कार्तिक २३, २०८२

साफ महिला फुटबल : टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान पक्का गरेको छ ।

रोमाञ्चक र तनावपूर्ण सेमिफाइनल भिडन्तमा निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। खेलको सुरुवातमै भारतले आक्रामक शैली अपनाउँदै नेपाललाई दबाबमा राख्यो ।

खेलको पहिलो १५ मिनेट भारतले लगातार आक्रमण गर्दै नेपाललाई आफ्नो डिफेन्स बलियो बनाइराख्न बाध्य पार्यो । कप्तान एन्जिला तुम्बापो सुब्बाले महत्त्वपूर्ण बचाउहरू गर्दै नेपाललाई खेलमा टिकाइन् । नेपालले खेलको दौरान केही अवसरहरू सिर्जना गरे पनि पहिलो हाफमा गोल गर्न सकेन ।

दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । खेलको ५०औं मिनेटमा नेपालकी रेखा पौडेलले दोस्रो पहेंलो कार्ड पाएर रातो कार्डका साथ मैदानबाट बाहिरिइन् । यो निर्णयपछि दर्शकहरूले असन्तुष्टि जनाउँदै मैदानमा बोतल फाल्न थाले, जसका कारण खेल झन्डै १३ मिनेटसम्म रोकियो ।

खेल पुनः सुरु भएपछि भारतले खेलमा अग्रता लियो । ७१औं मिनेटमा भारतकी संगीता बासफोरले उत्कृष्ट भली प्रहार गर्दै गोल गरिन् र भारतले १-० को अग्रता बनायो । तर, खेल अझ रोचक बन्यो जब नेपालकी प्रीति राईले तुरुन्तै किकअफबाट गोल गरिन् । सुरुवातमा रेफ्रीले गोलको मान्यता दिए पनि भारतले रेफ्रीलाई पुनरवलोकनका लागि आग्रह गरेपछि उक्त गोल रद्द गरियो ।

प्रीतिको गोल विवादास्पद रूपमा रद्द गरिएपछि दर्शक र खेलाडीहरूबीच तनाव उत्पन्न भयो । समर्थकहरूले असन्तुष्टि जनाउँदै फेरि मैदानमा बोतल फाल्न थाले, जसका कारण खेल झन्डै १ घण्टासम्म रोकियो ।

रेफ्री एसेसर भारतकी मारिया रेबेलो र म्याच कमिस्नर भुटानका मिन्दु दोर्जीले रेफ्रीसँग छलफल गरे । नेपालले गोल मान्यता नदिए खेल नमान्ने जनायो भने भारतले नियम अनुसार गोल रद्द हुनु पर्ने भनाइ राख्यो । लामो विवाद ६८ मिनेटपछि खेल पुनः सुरु भयो ।

खेल पुनः सुरु भएको केही मिनेटमै नेपालले बराबरी गोल गर्यो। नेपालकी सावित्रा भण्डारीले खेलको एक मिनेट भित्रै उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् । यो गोलले नेपाली समर्थकहरूलाई पुनः उत्साहित बनायो ।

निर्धारित समय सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो। टाइब्रेकरमा नेपालका चार खेलाडीले लगातार गोल गर्दै नेपाललाई ४-२ को जीत दिलाए । भारतका दुई खेलाडीको प्रहार नेपालका गोलकिपर अन्जना रानाले सफलतापूर्वक रोकिन् । साम्बा, गीता राना, सविता, र अन्त्यमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई फाइनलमा पुर्याए ।

यस जितसँगै नेपाल अब साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । नेपाली टिम र समर्थकहरूलाई यो जितले ऐतिहासिक अवसरमा पुर्याएको छ, र अब नेपाल पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने आशामा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation