मङ्लबार, माघ २१, २०८२

निरोगीताको लागि योग र प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरीः मुख्यमन्त्री आचार्य

बुटवल ८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणकोलागि मात्र नभई स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ ।

सैनामैना नगरपालिका–१ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान पुर्याउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भएको हो । निरोगी प्रदेशवासी अभियानलाई सफल बनाउन योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरी रहेको भनाई उहाँको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्यलाई अघि बढाउने विचार व्यक्त गर्नु भएको हो ।‘स्वास्थ्य कार्यक्रमहरुमा योग र प्राकृतिक चिकित्सालाई समावेश गरेर दीर्घकालीन रणनीति तयार गर्छौं’उहाँले भन्नुभयो,‘यसका लागि योग केन्द्ररुको प्रवद्र्धन गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका रणनीतिक योजना बनाउन जरुरी छ । यसमा सरकारले ध्यान दिन्छ ।’

प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुबाट योग तथा प्राकृतिक चिकित्सा सम्वन्धि परामर्श समेत दिनेगरी कार्यक्रम बनाउने बताउनु भयो । लुम्बिनी प्रदेश सरकारले आयूर्वेद अस्पताल तथा उपचार केन्द्रहरुमा सेवाहरु थप गर्ने जानकारी दिनुभयो ।

यसका साथै प्राकृतिक चिकित्सक, परामर्शदाताहरुको उत्पादनमा ध्यान दिने, शिक्षामा योग र प्राकृतिक चिकित्सा बिषयलाई पाठ्यक्रमको रुपमा समावेश गरेर व्यापक बनाउने बारेमा पनि सरकारले ध्यान दिने बताउनु भयो । सो अवसरमा पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष चित्र कार्कीले योग र प्राकृतिक चिकित्सालयको बारेमा जानारी दिदै योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुझाव दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation