विद्यार्थी संगठनकाे अनुकरणीय कार्य: ऐरावती आदर्श क्याम्पसमा नि:शुल्क आँखा जाँच शिविर

भालुबाङ ११ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा मंगलबार नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन ऐरावती आदर्श बहुमुखी क्याम्पस मूल इकाई कमिटीको आयोजना तथा तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका ५ सिसहनियाँको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा २ सय ९ जना विद्यार्थी, शिक्षक र कर्मचारीको आँखा जाँच गरिएको आँखा केन्द्रका इन्चार्ज बिमल बहादुर बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार जाँच गरिएका मध्ये २५ जनामा दृष्टिदोष देखिएको छ । दृष्टिदोष देखिएका व्यक्तिहरूलाई थप उपचारका लागि तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँ पठाइएको छ ।

शिविरको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थी संगठनहरु पढाइ सँगसँगै रचनात्मक कार्यहरु प्रति अग्रसर हुनुपर्ने बताउनुभयो ।

“मानवको अत्यन्तै महत्त्वपूर्ण अंग आँखा हो। यसलाई समयसमयमा जाँच गर्नु आवश्यक छ । यस्ता कार्यक्रमले स्वास्थ्य सचेतनामा ठूलो योगदान पुर्‍याउँछ।”, अध्यक्ष विष्टले भन्नुभयो ।

त्यस्तै अध्यक्ष विष्टले पालिकाले विद्यालयस्तरमा नि:शुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो ।

मूल इकाई कमिटीकी अध्यक्ष करिष्मा आचार्यको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलमान चौधरी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनाल, सदस्य रमेश गुरुङ क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, तिलगंगा सर्जिकल आँखा केन्द्रका इन्चार्ज बिमल बहादुर बिसी, स्ववियु सभापति बिष्णा भण्डारी लगायत अन्य प्राध्यापक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

अखिल (क्रान्तिकारी)दाङ जिल्ला सहसचिव बिनोद कुमार सोनीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण स्ववियु काेषाध्यक्ष टिकाराम राउतले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation