राप्तीमा ‘लय प्रकृतिको’ नाटक प्रदर्शन

भालुबाङ १६ मंसिर  दाङको राप्ती गाउँपालिका ३ मसुरीयामा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ ।

मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो ।

जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिंदै नाटक प्रदर्शन गरिएको छ ।

नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ ।

नाटकमा मण्डलाका कलाकार सोमनाथ खनाल, प्रदिप चौधरी, बल बहादुर राई, सागर खाती, मिलन कार्की, पिङ्की बोहोरा, मनी कुलुङ राई, अग्नी विश्वकर्मा, उमेश तामाङ, रिजन केसी, वेदना राईलगायत चर्चित कलाकारको अभिनय थियो ।

नाटकमा जथाभाभी गरिने डोजरे विकासको असर, वन जङ्गलमा गरिने आगजनी, मापदण्ड पूरा नगरी निर्माण गरिने संरचनाका कारण भूकम्पीय असर आदि विषय समेटिएको छ ।

नाटक सम्पन्न भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नाटकले यथार्थ चित्रण गरेको बताउनुभयो ।

उहाँले यस्ता नाटकले समुदाय सचेत भई प्राकृतिक विपत्ति रोक्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी लगायत स्थानीयको उल्लेखीय उपस्थिति रहेको थियो ।

मण्डला थिएटरले विश्व बैंक, युके एड, क्यानडा, युएसआइडीको सहयोग तथा राप्ती गाउँपालिका दाङको सहजीकरणमा नाटक प्रदर्शन गरेकोे थियो ।

नाटक दाङ, इलाम, ताप्लेजुङ, बझाङ, जाजरकोट, पश्चिम रुकुम सहित देशका विभिन्न ८ जिल्लामा प्रदर्शन गरिने निर्देशक सोमनाथ खनालले जानकारी दिनुभयो ।

ताप्लेजुङ बाट शुरु भएको नाटक प्रदर्शनी बझाङ पुगेर समापन गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation