बुधबार, कार्तिक २०, २०८२

भालुबाङ अस्पतालकाे सेवा सञ्चालनका लागि सरोकारवालाहरुसँग छलफल सम्पन्न

भालुबाङ २६ पुस । दाङको राप्ती गाउँपालिकाले प्रदेश स्तरीय भालुबाङ अस्पतालको सेवा सञ्चालनका लागि सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता,लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यमा र पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिक विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

छलफलका क्रममा मन्त्री सारुले बिरामीहरूको स्वास्थ्य सेवालाई केन्द्रमा राखेर अस्पतालको सेवाहरू थप प्रभावकारी र समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामीले सबै वर्ग र समुदायका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ। यसका लागि सबै सरोकारवालाहरूको सहयोग र सुझाव आवश्यक छ।” साथै, उहाँले प्रदेश स्तरीय भालुबाङ अस्पतालबाट तत्काल सेवा सञ्चालनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिकले सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा हुनुपर्नेमा जोड दिनुभयो। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वास्थ्यकर्मीहरूले बिरामीहरूसँग नम्र व्यवहार र उचित सल्लाह दिनुपर्ने बताउनुभयाे ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायले जनशक्ति अभावका कारण पूर्ण रूपमा सेवा सञ्चालनमा केही समस्या रहेको जानकारी दिनुभयो। निक साइमन संस्थाका कार्यकारी निर्देशक डा. कास्मिम शाह, लालमटिया स्वास्थ्य चौकीका इन्चार्ज कृष्णप्रसाद श्रेष्ठलगायतले अस्पतालको विकास र सेवा सञ्चालनका विषयमा आफ्ना धारणा राख्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका विशेषज्ञ, विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रमुख र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

उपस्थित सरोकारवालाहरूले अस्पतालको पूर्वाधार, जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति र प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।

लालमटिया स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत पोषणराज शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा भालुबाङ अस्पतालका डा. रण बहादुर बोगटीले अस्पतालको हालसम्मको विकासका गतिविधिबारे सहभागीहरूलाई जानकारी गराउनुभएकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation