भालुवाङ २९ माघ । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा हालै नवनिर्मित ईलाका प्रहरी कार्यालय भवनको मंगलबार उद्घाटन गरिएको छ ।
भवनको प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले उद्घाटन गर्नुभएको हाे ।
उद्घाटन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राईले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका सुरक्षा चुनौतीहरूको विश्लेषणपछि यस कार्यालयको स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो।त्यस्तै उहाँले निकट भविष्यमा डिएसपीको नेतृत्वमा प्रहरी निरीक्षक नियुक्ति गर्ने योजना रहेको जानकारी दिनुभयो ।
राईले सडक दुर्घटना, लागुऔषध दुर्व्यसन, यौनजन्य अपराध र आत्महत्या जस्ता समस्याहरूको प्रभावकारी निराकरणका लागि प्रहरीको भूमिका अति आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्न भौतिक संरचनाको अपरिहार्यता रहेको समेत राईले बताउनुभयो ।
नयाँ भवन नेपाल सरकारको नियमित बजेटमार्फत निर्माण गरिएको हो।उक्त भवनमा कार्यालय, ब्यारेक, संचार शाखा र प्रहरी प्रमुखको निवासका सुविधाहरू उपलब्ध गराइएका छन् र कुल निर्माण लागत चार करोड ४८ लाख २५ हजार रुपैयाँ रहेको छ । सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार ठेक्का सम्झौतासँगै निर्माण कम्पनीले २०७९ मंसिर १३ गतेदेखि २०८१ साउन २७ गतेसम्म निर्माण कार्य सम्पन्न गरेको जानकारी दिइएको छ ।
भवनको संरचनागत व्यवस्थामा तल्लो भागमा कार्यालयका लागि सात कार्यकक्ष, पहिलो तलामा प्रहरी कर्मचारीका लागि ब्यारेक (जहाँ महिला प्रहरीका लागि छुट्टै शौचालय र स्नानगृहको सुविधा छ) र माथिल्लो तलामा प्रहरी प्रमुखको निवास, संचार शाखा र अन्य आवश्यक कोठाहरू रहेका छन् । साथै, छुट्टै भान्सा घर र शौचालयको व्यवस्था समेत गरिएको छ ।
उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद लम्साल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे । सो अवसरमा जग्गा उपलब्ध गराउने जग्गादाता तथा निर्माण व्यवसायीलाई पनि सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, पत्रकार र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक अम्मर माझीले गर्नुभएको थियो ।











