बुधबार, कार्तिक २०, २०८२

राप्तीका अध्यक्ष विष्टको प्रश्न : “प्रदेश सरकारको निद्रा खुल्न कति टन फोहर गेटमा थुपार्नुपर्ने हाे ?”

भालुबाङ ६ फागुन । संघीय सरकारले फोहर व्यवस्थापनका लागि दिएको ५ करोड रुपैयाँ कार्यान्वयन नहुँदा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले प्रदेश सरकारलाई बारम्बार आग्रह गर्दा पनि कुनै ठोस कदम नचालिएको भन्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्नुभएको छ ।

“बैठक, छलफल, योजना, पुनरावलोकन—सबै भइरहेकै छ, तर कार्यान्वयन खोइ ? ‘हामी अध्ययन गर्दैछौं’ भन्ने उत्तर कहिलेसम्म दोहोर्याउने ? हामी थाकिसक्यौं,” अध्यक्ष विष्टले आक्रोश व्यक्त गर्नुभएको छ ।

राजधानी व्यवस्थापनमा राप्ती गाउँपालिकाले खेलेको भूमिकालाई प्रदेश सरकारले नदेखेको आरोप लगाउँदै उहाँले भन्नुभएको छ, “करिब १०० पटकभन्दा बढी प्रदेश सरकारलाई अनुरोध गरियो, तर बजेट कार्यान्वयनको कुनै छिनोफानो छैन। जनप्रतिनिधिले नै यति धेरै सास्ती खेप्नुपरेको छ भने सर्वसाधारण नागरिकको के हालत होला ?”

उहाँले प्रदेश सरकारको ढिलासुस्तीका कारण फोहर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भइरहेको भन्दै आक्रोश पोख्नुभएको छ । “फोहरको गन्धभन्दा ढिलाइको गन्ध अब असह्य बन्दै गएको छ। प्रदेश सरकारको निद्रा खुल्न अझै कति टन फोहर गेटमा थुपार्नुपर्ने ?”

पालिकाले बजेट तत्काल कार्यान्वयन गर्न ७ दिनको अल्टिमेटम दिँदै गत माघ २७ गते गाउँ कार्यपालिकाको टिम नै मन्त्रालय पुगेर मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको थियो ।

साे अवधिमा पनि बजेट कार्यनयनकाे कुनै छनक नदेखिए पछि अध्यक्ष विष्टले कडा आपत्ति जनाउनु भएको हाे ।

अध्यक्ष विष्टले फोहर व्यवस्थापनका लागि विनियोजित बजेट तुरुन्त कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ । यदि अझै ढिलाइ गरिएमा थप कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation